13, March 29, 2017
जीवनशैली

महेन्द्र उद्यानलाई नयाँ जीवन दिइँदै

22

भद्रपुर, २५ भदौ । झापाको सदरमुकाम चन्द्रगढीमा चार दशकअघि निर्मित महेन्द्र उद्यान पुनःसञ्चालनमा ल्याउन मर्मत, रङ्गरोगन तथा सरसफाइको काम तीव्र गतिमा भइरहेको छ । विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा पसेको हुलले वर्गाकारसो उद्यानभित्र रहेको महेन्द्रको सालिक भत्काएपछि बन्द भएको थियो । भत्काइएको सालिकको स्थानमा सर्वस्वीकार्य व्यक्तित्वको सालिक राख्ने सोच नगरपालिकाले राखेको छ ।

लगभग १६ कट्ठा जग्गामा रहेको सो उद्यान स्थानीयस्तरमा निकै लोकप्रिय र साँझमा मनोरञ्जन गर्ने केन्द्रका रुपमा परिचित थियो । चार दशकअघि तत्कालीन मेची अञ्चल अञ्चलाधीश छिरिङ लामाको प्रयासमा उद्यान निर्माण भएको थियो । अहिले भद्रपुर नगरपालिकाले रु ४७ लाख बजेट विनियोजन गरी उद्यानभित्रका संरचनालाई पुनःनिर्माण एवम् मर्मत तथा रङ्गरोगनको काम सुरु गरेको कार्यकारी अधिकृत सन्तोष घिमिरे बताए ।

उद्यानको सरसफाइ, मर्मत एवम् रङ्गरोगनमा नगरपालिकाका कार्यकारी अधिकृत, इन्जिनियरदेखि सबै कर्मचारी तथा नगर क्षेत्रका युवा, समाजसेवी, उद्योगी, व्यापारी र राजनीतिक दलका कार्यकर्ता जनश्रमदान गरिरहेका छन् । उनीहरु बिहानैदेखि काममा जुटेका छन् । आजदेखि रोटरी क्लब भद्रपुरले उद्यानभित्र जन श्रमदान गर्ने अभिलाषाका साथ भद्रपुर नगरपालिकासँग सम्झौता गरी काम थालिसकेको छ । नगरपालिकाभित्र नमुनाका रुपमा रहेको सो उद्यानलाई आउने आगामी घटस्थापनाभन्दा अगावै सञ्चालनमा ल्याइने नगरपालिकाका कार्यकारी अधिकृत घिमिरे बताए  ।

उद्यानभित्र विश्रामगृह, पिङ, विभिन्न किसिमका फूल र अन्य बोटबिरुवा रहेकाले पूर्ण रुपमा वातावरणमैत्री रहेको नगरपालिकाका ओभरसियर सुजित कर्णले बताए  । उद्यानको रेखदेख एवम् व्यवस्थापनका लागि नगरपालिकाबाट दुई माली खटिएका छन् ।