17, April 24, 2017
फिचर

हङकङमा भूपाल राईले सुनाए आफ्नो विचार र संघर्षको कहानी

14328914 1349038998469594 337647610 n

 

काठमाडौं, २८ भदौ । नेपाली साहित्यका बरिष्ठ कवि तथा गीतकार भुपाल राईले रबिन बान्तावा खाहोङ राईद्वारा लिखित पुस्तक ‘गीत सागर’को विमोचन गरेका छन् । हङकङ स्थित नयापेजको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राई सहित समीक्षक समाजका कार्यक्रम संयोजक गीतकार हेम लावती, बरिष्ठ संगीतकार दिनेश सुब्बा, गायक चेतमान गुरुङ लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
कवि तथा गीतकार भूपाल राई विशेष कार्यक्रम रहेको उक्त कार्यक्रममा संयोजक हेम लावतीले समीक्षक समाजको उद्देश्यहरु प्रष्ट्याउँदै स्वागत मन्तब्य ब्यक्त गरेका थिए । यस्तै वरिष्ठ संगीतकार दिनेश सुब्बाले भूपाल राई आफूले काठमाडौमा बनाएका हजारौं साथीहरुमध्ये प्रियहरुमा एक रहेको बताउँदै लगभग ३ दशकको मित्रता संझना गरेका थिए । उनले भूपाल राईको मीठो गीतमा संगीत गर्ने अवसर पाएको भन्दै ‘अभागीको शीरैमाथि सलह झैं पीर घुम्छ’ बोलको गीत सुनाएका थिए ।
सृजनशील अराजक अभियान्ता कवि हांगयुग अज्ञातले पनि कवि राईसँगको विगतका कवितात्मक यात्राका किस्साहरु सुनाउँदै माहौललाई रोचक बनाएका थिए  । उनले  वैरागी काइँला, भूपाल राईहरुलाई पढेर नै आफूहरु प्रेरित भएको समेत सुनाएका थिए ।
यसै गरी प्रमुख अतिथि भूपाल राईले आफ्ना गीत–संगीतको संघर्ष र कवितामा गरेका संघर्षहरु सुनाएर उपस्थित माहौललाई कहीँ सन्नाटा बनाइ दिए त कही हाँसोका फोहोरा छरिदिए । आफू अस्वस्थ रहे पनि करिब १ घन्टा धाराप्रवाह बोले । सीमान्तकृतको आवाज उठाउनेमा २० को दशकमा वैरागी काइँला एक्लै रहेका, ४० को दशकमा आफूले सो मुध्दा एक्लै उठाउँदा सत्ता संयन्त्रबाट असुरक्षित पनि महशुस गर्ने गरेको उनले बताए तर ५० को दशक पछि आएका युवाहरुको साथले आफूलाई सान्त्वना मिलेको बताए भने अहिले आफूहरुले उठाएको मुध्दा नै नेपाली साहित्यको मूल प्रवाह बनेको बिचार राखेका छन् ।  बीच बीचमा भूपाल राई द्वारा लेखिएका गीतहरु पनि स्थानीय गायक गायिकाले प्रस्तुत गरेका थिए । कवि तथा गायक निरज राईले ‘यो तिम्रै माटो हो तिमीले टेकेको’ प्रस्तुत गर्दा भूपाल राईले रेडियो नेपालमा गीत रेकर्ड गर्न खोज्दा सेन्सर बोर्डले दिएका झमेलाहरु बारे बताएका थिए भने आफूले थाहै नपाई खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले राष्ट्रिय गान बनाएकोले प्रतिबन्धित भएको बताए । कार्यक्रममा सोनम महर्जनले स्कूले हुँदा आफू नाच्ने गरेको गीत स्रष्टाकै सामुन्ने गाउनु पाउँदा हर्ष लागेको भन्दै स्वर्गीय रत्नबहादुर द्वारा संगीतबध्द र पवित्रा सुब्बाको स्वर रहेको सिरानीले बिझायो कि सिरकैले पोल्यो मेरो तन’ सुनाइन् । गायक राजु आङदम्बेले भूपाल राईको ‘पूर्वै जाने रेल’ले आफूलाई प्रेरित गरेको बताउँदै उक्त गीतमा आफ्नै तुक्काहरु मिसाई सुनाए भने आफ्नै लोकभाका पनि प्रस्तुत गरे ।
यस्तै कार्यक्रममा साब्लाबुङका सम्पादक राजकुमार राईले भूपाल राईका तीनै जना दाजुभाइसँग नजिकको सम्बन्ध रहेको बताउँदै जेठा दाइ गोपाल राईको छहरा साप्ताहिकको योगदानको प्रशंसा गरे भने माइला प्रकाश छाङछाको पुस्ता आफूले प्रकाशन गरेको बताए । साझा श्रृंखलाका संयोजक लालबहादुर गुरुङले हरेक महिना हुने साझा श्रृङ्खलाको कार्यक्रमले हङकङमा साहित्यिक गतिविधिलाई बढाएको बताए । हङकङ नेपाली साहित्य प्रतिष्ठानक अध्यक्ष टंक सुब्बाले नेपालबाट हङकङमा आउने वरिष्ठ साहित्यकारहरुले हङकङको आवाजलाई पनि मूल प्रवाहमा ल्याउन सहयोग गर्नुपर्ने अनुरोध गरे ।

सबै वक्ताहरुले रबिन बान्तावा खाहोङ राईलाई बधाई दिनुको साथै ‘गीत सागर’मा आम प्रचलित गीत लेखन भन्दा फरक तरिकाले लेखेर गीतकारले चिन्तनसहितको नयाँ गोरेटो बनाएको विचार दिएका थिए । ‘गीत सागर’ कति आफ्नै भोगाइ, कति देखेका, सुनेका, पढेका कुराहरु समेटेर बुनेको रबिन बान्तावा खाहोङ राईले बताए , गजलकार तथा गीतका विष्णुनन्द चाम्लिङले पुस्तक बारे आफ्नो धारणा प्रस्तुत गरे । खानपान सहित समापन भएको उक्त कार्यक्रमको संचालन कवि मनु कन्दङवाले गरेकी थिइन् ।