13, March 29, 2017
फिचर

अमेरिकाको पत्रकारिता

Krishna 245x300

-कृष्ण केसी

मलाई जस्तै तपाईंहरुलाई आफ्नो बाल्यकालको चक-चक र बहादुरीका तीतामीठा स्‍मृतिहरु मानसपटलमा आउँदा हुन । पुराना साथीभाइ वा आफन्तसँगको जमघटमा चर्चाका बिषय पनि बन्दा हुन । हुन त म लेखक, साहित्यकार त होइन त्यसैले लेख्न बस्दा एक पाना पनि नलेख्दै टुंगिन्छ कि त भने मेसो फुर्दै फुर्दैन । सायद म साहित्व्यकार हुन सक्तिन होइन हुन जान्दिन भन्ने कुराको गतिलो प्रमाण नै यही होला । मनले त फिटिक्कै मान्दैन तर हुन्छ यस्तै ।

एक पटक उपन्यास लेख्नु पर्‍यो भनेर सुरु गरेको पनि थिए । लामो समय गजधुम्म परेर, चिउँडोमा हात लगाएर सिलिङ्तिर हेरे पछि दिमागमा लेखनको “प्लट” फुर्यो साथीको जीवन कथा ।  कथा त तयार भयो तर नाम चाँहि के राख्ने ? जती गरे पनि जुरे पो । पचासौं शीर्षक सोचिसकेँ मेलखाने एउटा पनि आएको होइन दिमागमा । बिना नाम नै उपन्यास सुरु गर्न बिचार गरे । यत्तिकैमा साथीको फोन आयो । उसलाई म “झूम्की कुमाइनी” भनेर जिस्क्याउथेँ । यत्रो बेर नजुरेको नाम उसको नाम लिने बित्त्कै जुर्यो, “झूम्की कुमाइनी ” । झुम्की कुमाइनी किताब लेख्दै छु, आउँदै छ तर कहिले हो त्यो भने जुरेको छैन ।

कुरा म सानो छँदाको हो, हाम्रो घरमा दर्जी दाई आउँथे लुगा सिलाउन ।  उनलाई सबैले बले दाई या बले भनेर बोलाउँथे । बले दाई बर्षको एक दुई पटक परिवार सहित आउँथे । कहिले काँहि त दुई तीन दिन बसेर जान्थे । बले दाई आउँदा हामी दुई कारणले खुसी हुन्थ्यौ । एउटा त नयाँं लुगा लगाउन पाइने, अर्को कथा सुन्न पाइने । नयाँं कपडाको रहर र रमाइलो कथा सुन्ने अवस्था अब छैन । गाउँ अनि देश्बाट बिस्थापित भैसक्यो त्यो चलन र म दुबै । अझ भनौ बिकसित भइयो । बले दाइको कथा सुन्दा आनन्द त आउँथ्यो नै मेरो नयाँं लुगा लगाउने रहरको मूल्य पनि चुकाउनु पर्थ्यो । परिवारको कान्छो हुनाले सबैको प्यारो थिएँ । त्यसैले मैले अरुभन्दा बढी प्राथमिकता पाउँथे । नजिते सम्म रोयर र पिरोलेर पनि जित्नै पर्ने बानी थियो मेरो, सायद जिद्धी भनौ । जीत त मेरै हुन्थ्यो तर हरेक जीत्को मूल्य तिर्नु पर्थ्यो मैले । कि त दाइको एक मूक्का खानुपर्थ्यो कि झापड । दाई उमेरले म भन्दा दुई बर्ष जेठो । यदाकदा त लड्ने गर्थे तर मेरो बलले पुग्ने होइन । के गर्नु, त्यही मूल्य र झापड पुरस्कार मै खुशी हुन्थे ।

सानातिना कुरामा नै झगडा हुन्थ्यो हामीमा । कसको लुगा पहिला सिलाउने भनेर झगडा मात्र होइन महाभारत नै पर्थ्यो । दुई भक्कु खाए पनि जित मेरै हुन्थ्यो तर दुई चार पटक भने धेरै झगडा पर्दा बले दाइले भन्थे, बाबु हो झगडा नगर बरु म एउटा कथा भन्छु । हामी झगडा छोडेर उनको जनिक बस्ने गर्थ्यौ । बले दाइसँग अनगिन्ती कथाका पोका हुन्थ्यो, सुनकेसरीको कथा, तीन घण्टेको कथा आदी । कती कथा त घण्टौका हुन्थे । उन्का कथा र स्मरणबारे मेरो दाइले आफ्नो पुस्तकमा पनि लेखेको छ थोर बहुत । मुख मात्र चलिरहेको हुन्थेन बले दाइको हात पनि सकृय हुन्थे । कथासँग-सँगै उनले हाम्रो लुगा तयार पारिसक्थे । कथा भनेर दाजुभाइको झगडा मिलाउने आफ्नो काम पनि सक्ने यो बडो काइदाको तरिका थियो बले दाइको । बले दाइलाई हाम्रो झगडाले पिडा हुन्थ्यो होला सायद । सबैको कुरा सुन्नुपर्ने, मिलाउनु पर्ने अनि आफ्नो काम पनि गर्नु पर्ने बाध्यताथ्यो उनीसँग । आफ्नै सन्तानलाई त साम्य पर्न नसक्ने बाबुआमा प्रशस्तै छन, बिशाल मुटुका धनी बलेदाइ त अरुका सन्तानका झगडा मिलाउदै हिड्थे । सायद उनले हाम्रो जस्तै अरु धेरैको झगडा मिलाएका होलान नि । बले दाई अचेल कता छन थाहा छैन तर उनीसँग सम्झना भर्खरै ताहुबाट निकालेको सेलरोटी जस्तै ताजा छ । बले दाई साँचै महान थिए । द्वन्द्ध ब्यबस्थापनको शैली त उनीबाट सिक्नु पर्ने हामी नेपालीले ।

हिजो आजको मेरो अमेरिका बसाइको पनि तेस्तै अनुभव छ । जन्मले म नेपाली इच्छाले अमेरिकन । अमेरिकामा पनि धेरै नै कार्यक्रम हुने गर्छन् । झन आफू त पत्रकार पनि पेशगत धर्मका लागि भएसम्मका कार्यक्रममा पुग्ने पर्ने । जानुसम्म त ठीकै छ तर कुरा अरु पनि हुन्छन कथा बेथाका । लामो यात्राा गरेर कार्यक्रमा जाउ, गेट्मा फि तिर अनि फोटो-देखि भिडियोसम्म लेऊ, यत्तिमात्र हैन अरु पनि हुन्छन कुरा । नजिकैबाट अरुले खानाको बासना चलाउँछन् । आफूले भने सबैले खाएको फोटो खिचिदिनु पर्ने । पल्लो कुनाबाट आवाज आउँछ ए भाई, हाम्ले खाको नि खिचिदेउ न हो । हैन हो, यो खाएको फोटो पनि किन चाहिंदो होला ? छड्के क्यामेरा भिरेर म तेत्तै जान्छु । कतिपय ठाउँमा त खानाको पनि टोकन तिर्नु पर्छ, पानीको पनि पैसा तिर्नु पर्ने, कता पुग्दैछौ यस्ता खाले नेपाली कार्यक्रम जहाँं पानी बेचिन्छ । खै हाम्रो सांस्क्रिती जहाँ पाहुनालाई पानीले स्वागत गरिन्थ्यो । यहाँ त पानी पनि बेच्छन पापी आयोजकहरु ।

यस्ता धेरै कार्यक्रम हुन्छन यहाँ हप्तमा दुई तीन पनि । चाहिने नचाहिने ठाउँमा सयौं र हजारौ खर्च हुन्छ तर पनि कलाकार र पत्रकार गेट्मा पैसा नतिरी भित्र जान पाउदैनन । अनि तिनै कलाकारको नाम भजाएर पत्रकारले निशुक्क रुपमा समाचार अनि भिडियो बनाउदिनु पर्ने धन्य हाम्रो सामाजिक संस्थाहरुका संचालकहरु र कार्यक्रमका आयोजकहरु । कम्तिमा कलाकार र पत्रकारलाई गेट फी त परै जावस खानाको टोकन त तिर्नु नपरे हुने नि । फेरि पनि म अरुले खाएको फोटो खिच्न गेट र टोकनको पैसा तिरेर भित्र जान्छु अनि सबैले खाएर भ्याइन्जेल फोटो खिच्छु, कार्यक्रमको भिडियो पनि, अन्तमा केही पाय खायो नत्र ठन्डाराम । फेरि यत्तीले हुने हो र । सोमरस देखी सेलिब्रेटीसँग एक् एकको फोटो रे, आयोजकको ग्रुप फोटो, बाफ रे बाफ, भक्कानो पारेको देखि अंगालो मारेको सम्म फोटो । कत्तिन यिनीहरुकै लागि ल्याएको फोटोग्राफर जस्तो गरी भन्छन लाजै नहुने – “ए भाई हाम्रो चाँहि फोटो नखिच्ने ?” लौ म र मेरीको, म यिनिसँग बस्छु लौ त एउटा खिचिदेउ । सुरादेखी सुन्दरी सम्म, भुरा देखी बुढासम्म सबैलाई जे गरेको पनि फोटो चाहिने । भोज होस या भत्तेर, कुर्दा या मूर्दा, नमस्कार होस या सलामी, जन्ती होस या मलामी, कोर्काली हुन या गोरखाली, चिरकुटे हुन कि भिर्कुटे, पुर्कुटे हुन या पार्कोटे, लाउरी देखि  चाउरी सम्म, सति देखि सावित्री, बरबधु देखि नगरबधु सम्म, जोइटिङ्गे होस् या पोइटिङ्ग्रे, काजी देखि पाजी सम्म, ह्रङ्कल देखि डिम्पल सम्म, श्री या श्रीमती, दोबाटे देखी खोपटे सम्म सबैलाई चाहिने उ, उनी र उन्किको पोज त्यो पनि तानी तानी सित्तैमा मागि मागी ।

कार्यक्रम भ्याएपछि पनि आफ्नै समस्या हुन्छ । समाचार लेख्नु, टाईप गर्नु, मल्टिमिडियामा समेत धेरै थोर प्रयास गर्छु । अरु धेरै पत्रकार भन्दा अलि फरक चिज दिन स्काइपमा रेकर्ड गरेर भय पनि संचारका लागि भिडियो बनाउँछु म । अहिले सम्म मैले मेरो पत्रकारिता या फोटो, भिडियोग्राफिका लागि ज्याला लिएको छैन । त्यसैले यसलाई पेशा भन्न मिल्ने हो कि नमिल्ने हो कुन्नि अलमल्ल पर्छु म त । यसबाट लिएको अनुभव चाँहि मलाई बले दाइको कथाको सम्झना जस्तै मीठो लाग्छ । खैर, कार्यक्रम सकिन्छ । घर पुग्दा करीब रातको दुई तीन बजिसकेको हुन्छ । बाटामै फोन आउँछ, होइन तपाईं त कस्तो मान्छे हो, अहिले सम्म फोटो फेसबूकमा राखेको छैन? म आफ्नो वास्तविकता अबगत गराउन खोज्छु तर उल्टै दुलाहाका भाईले ठेकेदारलाई झैं भन्छन ल ल छिटो राखिदिनुहोस् मेरो फोटो ट्याग पनि गार्दिनु, म ढिला भयो सुते । कस्तो आयो कुनी हेर्न छट्पटी भैसक्यो उता मेरोलाइ हेर्न पर्‍यो रे । नेपलमा उनका घरका काली देखी मामाकी साली सम्म,बिश्वका धेरै कुनाका अनलाइन हनी हुन या छिमेकी बनी हुन सबै फोटो हेर्न कुरेर बसिराखेका हुन्छन रे ।

फोटो डाउनलोड गरेर पोस्ट गर्न लगभग एक घण्टा लाग्छ । त्यसपछि सुरु हुन्छ अर्को कहानी । मेरो फोटो किन त्यस्तो, मेरो फोटो किन आएन । कहिले त अर्को पनि फोन आउछ, ए भाइ मेरो फलानी संगको फोटो डिलिट गर्देउ त प्लिज, बुडी रिसाएर बबन्डार । खिच्ने बेलामा त बोलाइ बोलाइ हामी दुईजनाको खिचिदेउ भनेका थिए त तर ऐले ? यस्तो पनि भयो कि लौन त्यो मेरो फोटो हटाइदिनुस फलानोंसंगको, बुडोले संका गरे, को भन्दा को कम ? यस्तै भोग्नु पर्छ सित्तैमा काम गर्दा पनि ।  पैसा नै तिरेका भए त के के मात्र गर्दा हुन् ।  सित्तै पाए चुक र अलकत्रा पनि निल्छन रे नेपाली, हो कि क्या हो ? आदी, इत्यादि ।

यस्ता धेरै मध्य एउटा प्रसँग पनि मीठो छ मेरो स्‍मृतिमा । एनआरएन अमेरिका र मेरो मिडिया कोअर्डिनेटरको कार्यकालबारे । मैले तत्कालिन अध्यक्ष प्रल्हाद के.सी सँग स्काइपमा भिडियो अन्तर्वाता गरेर मिडियामा पुराउने काम गरेको पनि एउटा ईतिहास नै होला सायद । यो दोश्रो साधारण सभाभन्दा अगाडिको कुरा थियो । त्यति बेला एनआरएन अमेरिका मिडियाको पहुँच भन्दा बाहिर थियो । मिडिया सँग कुनै संबन्ध नै थियन ऐले जस्तो । धेरै कुरा खोज्नु पर्ने अवस्था थियो । मेरो प्रयास चाँहि एनआरएन अमेरिकालाई जनमानस सम्म लैजाने भन्ने थियो । यही सिलसिलमा एनआरएनबारे थुप्रै मात्र होइन अमेरिका नेपाल टेलिभिजन अनि अरु मिडियासँग मिलेर निर्वाचनको धमाका नै चलाइयो । यस्तै निरन्तर प्रयास र इमिग्रेशन चौतारीको कार्यक्रम सफल भयकै कारण मैले एनआरएन अमेरिकाको निर्वाचनमा ७० प्रतिशत भन्दा धेरै मतले बिजय हासिल गरेको थिए । हुन त नेपाल अमेरिका जर्नालिस्ट एसोसिएसन (नेजा) पुरै संस्था लागेर पनि पुरा नभएका यस्ता धेरै कुरा म एकलो ब्यक्तीले कती गर्न सक्थे र । सके सम्मा पहिलेकाले पनि प्रयास गरेकै होलान । भने जती त ऐले पनि भएको छैन तर प्रयास गरेर एउटा तह सम्म पुर्याएको छ एनआरएन अमेरिकालाई मेरो कार्यकालमा । यो प्रयास निरन्तर हुनुपर्छ । हाल चाँहि अमेरिकाका सबैजसो मिडिया एनआरएनको पार्टनर छन्, सहयोग गर्छन् यो नै प्रगति होला मेरो कार्यकालको ।

एनआरएन अमेरिकाको मिडिया कोअर्डिनेटर भयकै कारण कार्यसमितिका अरु सबै जस्तो खट्नु त छँदै थियो, सबै काम सकेर सुत्छन कि रमाइलो गर्छन् । मेरो भने झन ठूलो काम बाँकी रहन्थ्यो । मान्नुस् नमान्नुस् संस्थामामा मर्यादाक्रममा रोल्ल गर्दा मेरो दर्जा नवौमा पर्थ्यो तर कामको जिम्मेवारीको हैसियतले भने मेरो स्थान तेश्रो दर्जामा हुने गर्दथ्यो जहिले पनि, अध्यक्ष, महसचिब अनि मिडिया कोअर्डिनेटर । यसो भन्दा धेरैलाई आपत्ति पनि आउला तर म समाजसाश्त्रमा एमए गरेर १४ बर्ष सम्म आइएनजीओमा काम गरेको मान्छे धेर थोर त बुझ्छु नै । संस्थाका उप र सह भन्ने जती सबै पद निस्कृय पद हुन । व्यबहारिक रुपमा ठाडो भाषामा भन्ने हो भने कानुनी कुरा छोडेर अन्य अबस्थामा कार्यसमितिका सदस्य अनि त्यो उप र सह पदको जिम्मेवारीको हैसियत बराबर हुन्छ भन्न्दा कोही रिसाउनु हुन्न होला ।

मेरो काम चाँहि सुरुहुने अरुको मस्तिको समय सुरु भय पछि । गतिबिधी अपडेट गर, समाचार तयार गरेर मिडिया पार्टनरहरुलाई पठाउ त्यो पनि त समय लाग्ने नै भयो । कतिपय त मिडियाका साथीहरुले रेपोर्टिङ् गरिदिन्थे र मैले पनि शेयर गरिदिन्थे । सायद यही होला हाम्रो साझेदारी र मिलाप भनेको पनि । धेरै त रातै भरी पनि कटाएको छु मैले । यसको पनि रमाइलो र नरमाइलो दुबै अनुभव हुन्छ । पहिलो त निरन्तर खटेर काम गर्न सकेकोमा गौरव लाग्छ दोश्रो पक्ष सबैको चित्त बुझाउन सकिन्न । गाली पनि खाइन्छ बिरलै धन्यवाद पनि । त्यो भन्दा पनि पिडाको कुरा त धेरै पटक अध्यक्ष र महासचिबले म फोटो लिदै गर्दा कार्यसमितीको भनेर परिचय  नै गराउनु हुन्नथ्यो मलाई । सायद बिर्सेंर होला तर पनि मैले उहाँहरुको नाम पहिला लेख्नु पर्दथ्यो किन कि मलाई बिर्सन छुट थियन । म मेरो क्यामेराको सानो छिद्रबाट एउटा आँखाले पुरा स्टेज देख्दथे तर उहाँहरुको दुइटा आँखाले म अगाडि खडा भएको मान्छे देख्नुहुन्नथ्यो । नचाहेको त होइन होला तर खै के पो भएको हो । भूगोलमा मात्र होइन बिचर र बिवेकमा पनि हामी बिभिद थियौ । कोही पूर्वका, कोही पश्चिमका, अनि कोही उत्तरका त होकी दक्षिणका । न्यूयोर्कमा आधा दिन हुँदा क्यालिफोर्नियामा उज्यालो नै भएको हुन्न । मेरो राती नै हुन्छ फोन आउँछ होइन आझै सुतिराको ? यि सबै कारणहरुले गर्दा म अझै सम्झन्छु बले दाइ र उनका कथा । बले दाई सङै भैदियको भय सुनकेसरी मैयाँको कथा भनेर सबैको कुरा मिलाउँथे होलान । फोटो खिच्ने र राख्ने पनि खुसी, कुर्ने, हेर्ने, पर्खौटा पर्खौटी सबै खुसी । धन्य थियौ तिमी बले दाई । मलाई बले दाइको तरिका खड्कन्छ धेरै धेरै । बले दाइलाई सलाम !