25, June 25, 2017
फिचर

मनास्लु पदमार्ग मर्मतको पर्खाइमा चुम तथा नुव्रीबासी

7762c2806c2d60c4ce03096de2e3fc4f

 

गोरखा, १७ भदौ । उत्तरी गोरखामा दुई वटा मनोरम पर्यटकीय उपत्यका छन् – चुम तथा नुव्री । चुम उपत्यकामा चुम्चेत र छेकम्पार गाविस पर्छ भने नुव्रीमा बिही, प्रोक, ल्हो र सामागाउँ पर्छन् । यी गाविसहरु हिमालपारिका क्षेत्र हुन् । सरकारले मनास्लु क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा राखेको छ । प्रकृति संरक्षण कोष अन्तर्गत मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले यस क्षेत्रको समग्र गतिविधिबारे जानकारी राख्दैआएको छ । 

नेपाल भ्रमण वर्ष सन् १९९८ देखि मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न सुरु भयो । अन्नपूर्ण पदमार्गलगायत क्षेत्रमा सडक मार्ग पुगेपछि विदेशी पर्यटकको रोजाइमा मनास्लु पर्यटकीय पदमार्ग परेको हो । मनास्लु क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्या वर्सेनि बढेपछि पदमार्गको छेउछाउमा एकपछि अर्को होटल खुलेका छन् । अनकन्टार गाउँमा बसोबास गर्दै आएका मानिसहरु रोजगारीका लागि पदमार्गको आसपासमा बस्न सुरु गरेका छन् । कसैले व्यापार गरेका छन् त कोही पर्यटकको भारी बोकेर जीवन निर्वाह गर्दै आएका छन् । 

पदमार्गको आसपासमा १५० भन्दा बढी होटलहरु खुलिसकेका छन् । भूकम्पले भत्काएका अधिकांश होटलहरु मर्मत भइसके । लाखौंको लगानीमा खुलेका होटलमा पर्यटकले स्थानीय उत्पादनका परिकारको स्वाद लिन पाउँछन् भने होटलमा प्रत्यक्ष रुपमा रोजगारीको अवसर पनि खुलेको छ । यसले वैदेशिक रोजगारीमा जान खोज्ने युवायुवतीको सङ्ख्यामा कमी आएको छ । दुर्गम उत्तरी भेगका मानिसहरु सरकारी सेवामा जागिरे छैनन् । शिक्षाको सहज पहुँच नहुँदा बीचमै कक्षा छोड्नुपर्ने बाध्यता छ भने विद्यालय छाडेर बालबालिका गुम्बामा पढ्न जान्छन् र औपचारिक शिक्षा पूरा गर्दैनन् । 

समग्र उत्तरी गोरखाका बासिन्दाको दिनचर्या भूकम्पपछि अबरुद्ध मनास्लु पदमार्ग पुनःनिर्माण नहुँदा बिग्रिएको छ । भूकम्पपीडितले सरकारी अनुदान बिनै पुरानै शैलीमा घर बनाइसकेका छन् । सरकारी अनुदानको पर्खाइमा उनीहरुले हिउँद, बर्खा काटे । बैंकको सहज पहुँच नहुँदा हिमालपारिका सात गाविसमा अनुदान रकम वितरण ठूलो चुनौतीको रुपमा देखापरेको छ । सिर्दिवास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पार मात्रै होइन केरौंजा काशीगाउँ, लापु र उहिया गाविसमा पनि सकड मार्ग पुगेको छैन । यी भेगमा खाद्यान्नलगायत सामग्री ढुवानीको एकमात्र विकल्प खच्चड भएपनि अबरुद्ध पदमार्ग सञ्चालनमा नआउँदा सामग्री ढुवानी हुन नसकेको खच्चड व्यवसायी सङ्घका अध्यक्ष धनकुमार गुरुङको भनाइ छ । उत्तरी भेगमा एक हजार तीन सय भन्दा बढी खच्चडहरु चल्दै आएका थिए । 

पदमार्ग खोल्न आलटाल 

भूकम्पपछि हावाडाँडा, लापुभीर, नौलीखोला, माछाखोला, सर्दिखोलालगायत क्षेत्रमा पदमार्ग बिग्रिएको छ । नौलीखोलाको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा उत्तरी गोरखाका १३ गाविसमा आउजाउ गर्न समस्या भएको छ । खोलामा उर्लेको भेलमा जोखिम मोलेर मानिसहरु आवतजावत गर्दै आएका छन् । भारी बोकेका खच्चडहरु नौलीखोला तर्न सक्दैनन् जसले गर्दा उत्तरी भेगमा खाद्यान्नको चरम सङ्कट हुने देखिएको छ । 

पदमार्ग खोल्न माग गर्दै उत्तरी गोरखाका स्थानीयवासी नौ दिनको बाटो हिँडेर धेरै पटक सदरमुकाम आइसके । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यलाई भेटेर पदमार्ग खोल्न आग्रह गर्छन् तर पदमार्ग खोल्न अहिलेसम्म खासै काम भएको छैन । ‘डिएफआइडी नामक संस्थाले यारुबगरमा करिब २०० मिटर पुल बनायो,’ आचार्यले भन्नुभयो – ‘आइओएम नामक संस्थाले सर्दीखोलामा पुल बनाएन ।’ एनजीओ÷आइएनजीओले प्रतिबद्धता गरे अनुसार काम नगरेपनि जिविसलगायत स्थानीय निकायले त्यस्ता संस्थालाई कारबाही गर्न सकेको छैन । 

सर्दीखोलामा पुल नभएपछि चुम्चेत, छेकम्पार आउजाउ गर्ने बासिन्दाहरु समस्यामा छन् । पहिरोबाट डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको चुम्चेत गाविसका शेराप लामाले गुनासो गर्नुभएको छ । सर्दिखोलादेखि छेकम्पारसम्मको चुमभ्याली पदमार्ग पनि पुनःनिर्माण गर्नुपर्ने भएपनि बजेटको अभाव छ । स्थानीयवासीले खाद्यान्न सहयोग लिएर सर्दीखोलामा निर्माण गरेको काठेपुल बर्खा लागेपछि उर्लेको भेलले बगाउँदा समस्या भएको हो । सर्दीखोलामा पनि यारुबगरको जस्तै क्यान्टिलिभर पुल निर्माण गर्नुपर्ने छ । डिएफआइडीले सो पुल निर्माण गर्ने बताएको भएपनि काम सुरु गरेको छैन । 

अबरुद्ध पर्यटकीय पदमार्ग सञ्चालनमा नआउँदा मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बर्सेनि छ हजारभन्दा बढी विदेशी पर्यटक आउने गरेको मनास्लु क्षेत्रमा गएको वर्ष न्यून मात्रामा पर्यटक आए । पदमार्ग अबरुद्ध हुँदा मनास्लु क्षेत्रबारे नराम्रो सन्देश गएको चुम तथा नुव्री उपत्यकाका स्थानीय बासिन्दा बताउँछन् । जतिसक्दा छिटो पदमार्ग खोल्नुपर्ने उनीहरुको माग छ । पर्यटक नआउँदा स्थानीय जनताको रोजीरोटी हराएको छ । 

उपभोग्य सामग्रीको भाउ आकाशियो 

पदमार्ग अबरुद्ध हुँदा खच्चड सञ्चालन गर्न नसकिएको भन्दै व्यापारीले दैनिक उपभोग्य सामग्रीको भाउ बढाएका छन् । प्रतिकेजी नूनको मूल्य १२० पुगेको छ भने एक बोरा चामल किन्न तीन हजार रुपैयाँ तिर्नुपरेको छ । खच्चड नचल्दा उपभोग्य सामग्री ढुवानी ठप्प भई मौज्दात सामग्रीको पनि ब्यापारीले भाउ बढाएका हुन् । 

पदमार्ग सुचारु नहुँदा लम्जुङ, मनाङ हुँदै लार्के पार गरेर उत्तरी गोरखामा दैनिक उपभोग्य सामग्रहरु ढुवानी गर्नुपरेको सिर्दिवासका रामकुमार गुरुङले बताउनुभयो । ‘हिमाल कटाएर ल्याएको सामग्रीको भाउ छोइ नसक्नु छ,’ उहाँले भन्नुभयो – ‘गरिव जनता झन् गरिव भए । ऋणमा फसे ।’ पर्यटकहरु मनाङ हुँदै लार्केपासका लागि आउन सुरु गरे भने आरुघाटदेखि माथिका होटलहरु सुक्ने उहाँको चिन्ता छ । 

लापु गाविसको हावाडाँडादेखि खानीबेशी, उहियाको खोर्लाबेशीदेखि दोभानसम्म छ ठाउँमा पहिरो झरेको र सिर्दिवासको जगतदेखि फिदिम, सल्लेरीलगायत ठाउँमा ठूला पहिरो खसिराख्दा पदमार्ग खोल्न नसकिएको हो । 

स्थानीय विकास अधिकारी नारायण आचार्यले बर्खा सकिएपछि अबरुद्ध पदमार्ग खोल्न सकिने बताउनुभएको छ । सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पदमार्गहरु खोलेर पर्यटक तथा स्थानीयवासी सहजै हिड्न सक्ने बनाइने उनले बताए  । पदमार्ग मर्मत गर्न बजेटको अभाव भएको छ । पर्यटन रोयल्टी शीर्षकमा आएको बजेटले भएपनि पदमार्ग खोलिने उनको भनाइ छ ।