25, June 25, 2017
मनोरञ्जन

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

Badri pangeni 1 2

१२  असोज, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट गायक बद्री पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रतिष्ठानका अध्यक्ष पदका लागि गायक पंगेनी, विष्णु खत्री र टिकाराम चपाईंको उम्मेदवारी परेको थियो । पंगिनीले भारी मत अन्तरले खत्री र चापाईंलाई हराउँदै विजयी भएका हुन् । पंगेनीले आठ सय ८८ मत ल्याएर विजयी भएका हुन् भने अध्यक्षका दुई प्रत्यासी खत्रीले पाँच सय आठ र चपाईंले तीन सय ३० मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विजीले आठ सय ८३ मत ल्याएर भारी अन्तरले विजयी भएका छन् । उनका प्रत्यासी ऋषिलाल श्रेष्ठले तीन सय ८२ र गायक विमलराज क्षेत्रीले चार सय ६२ मत ल्याएका छन् ।

त्यसैगरी प्रथम उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भइसकेका थिए । द्वितीय उपाध्यक्षमा रामजी खाँडले विजयी हासिल गरेका छन् । महासचिवमा भएको चुनावमा सुवास केसी विजयी भएका छन् । उनका प्रत्यासी शिरिष देवकोटालाई हराउँदै केसी महासचिवमा विजयी भएका हुन् ।

यस्तै उपमहासचिवमा चोलेन्द्र पौडेल ९ सय ७६ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नारायण लेकालीले सात सय नौ मत ल्याएका थिए । त्यसैगरी सचिवमा शंकर बिसीले ११ सय आठ  मत ल्याएर विजयी भएका छन् । सचिव पदमा नै खुमन अधिकारीले एक हजार १५ र कृष्ण रेउलेले सात सय ५५ मत ल्याएर विजयी भएका छन् । 

कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वा्चित भएका हुन् । सहकोषाध्यक्षमा टीका पुनले १२ सय ६४ मत ल्याएर प्रतिस्पर्धी नारायण भुसाललाई पछि पार्दै विजयी भएकी छिन् । खुला सदस्य पदमा शिव हमाल महिलातर्फ देवी घर्ती सवैभन्दा धेरै मत ल्याएर विजयी भए । 

खुलातर्फको सदस्यमा पार्वती राई, राजु ढकाल, कुलेन्द्र विश्वकर्मा, राजन ठकुरी, वसन्त थापा, सन्तोष आलेमगर, जीवन दाहाल, हरि डाँगी, प्रचण्ड जीसी, रमेशराज भट्टराई, ईश्वरी प्रसाद भुसाल, राजन गुरुङ, विनोद बाजुराली विजयी भएका छन् । खुला सदस्यतर्फ १४ जनाको लागि ३४ जनाको उम्मेदवारी परेको थियो । 

त्यस्तै महिलातर्फ देवी घर्तीसँगै मुना थपामगर, पूर्णकला बिसी, जमुना राना, जानकी तारमी मगर विजयी भएका हुन् । यसअघि नै महिला उपाध्यक्षमा रिता थापामगर निर्विरोध निर्वा्चित भएकी थिइन् । महिला सचिवमा राधिका हमाल निर्विरोध भएकी थिइन् ।

त्यस्तै प्रदेश नं. २ संयोजकमा कृष्ण प्रसाद गौतम, प्रदेश नं. ३ संयोजकमा रमिला न्यौपाने, प्रदेश नं. ४ संयोजकमा तारापति सुवेदी, प्रदेश नं. ५ संयोजकमा लक्ष्मण खड्का, प्रदेश नं ७ संयोजकमा सुरत रावत रहेका छन् ।