30, July 25, 2017
ADS
साहित्य/विविध

अमेरिकाका विभिन्न सहरमा झन्डै अढाइ महिना नाटक यात्रा चल्ने, रंगकर्मी सुनील पोखरेल

Sunil pokharel 57eb4fa1cd31f3.34988320

१३ असोज , काठमाडौं  । रंगकर्मी सुनील पोखरेल, निशा शर्मा र निशांश पोखरेल नाटक यात्राका लागि बुधबार अमेरिका जाने भएका छन् । अक्टोबर २ मा टेक्सासबाट सुरु हुने नाटक यात्रा अमेरिकाका विभिन्न सहरमा झन्डै अढाइ महिना चल्नेछ ।

यात्रामा डा. प्रतिभा रायले लेखेको उडिसा भाषाको चर्चित उपन्यासमा आधारित नाटक ‘याज्ञसेनी' र ‘इम्प्रोभाइज' नाटक ‘जीवन यात्रा' मञ्चन हुने सुनील पोखरेलले जानकारी दिए ।

‘याज्ञसेनी'को निर्देशन सुनीलले गर्दैछन् भने निशा शर्माको एकल अभिनय रहनेछ । निशाको यो दोस्रो एकल नाटक हो । उनले यसअघि नाटक ‘साइकोसिस'मा एकल अभिनय गरेकी थिइन् । ‘मलाई एकल नाटक गर्नु निकै गाह्रो काम लाग्छ । तर पहिलेदेखि नै द्रौपदीको चरित्रमाथि काम गर्न मन थियो । केही पहिले चित्रलेखा बनर्जीको कृति द प्यालेस अफ इल्युजनको अंशमा आधारित नाटक गरिसकेपछि आत्मबल बढ्यो । त्यसैले यो नाटकमा एकल अभिनय गरेकी हुँ ।'

उपन्यासलाई सुमन पोखरेलले नाट्य आलेखमा रूपान्तरण गरेका हुन् । ‘नाटकमा द्रौपदीको आँखाबाट महाभारतलाई हेरिएको छ । व्यासको आँखाबाट हेरिएको महाभारतलाई यसले उल्ट्याइदिएको छ', नाटकबारे सुनीलले भने ।

त्यसैगरी ‘जीवन यात्रा' भने प्रयोगात्मक नाटक हो । जसमा सुनीलको एकल अभिनय हुनेछ । सुनील भन्छन्, ‘मञ्चनको तयारीकै बेला नाटक तयार हुनेछ । त्यसमा एउटा मान्छेको मानसिक र शारीरिक यात्रा प्रस्तुत हुनेछ । त्यसका लागि स्मृति, कविता, गीत आदिको प्रयोग पनि गरिनेछ ।'

लिखित आलेख नभएको यस नाटकमार्फत सुनील निशाका छोरा निशांश पहिलोपटक नाटक निर्देशक बन्दैछन् । निशांशले गुरुकुलमा मञ्चित विभिन्न नाटकमा अभिनय गरिसकेका छन् । उनले नाटक-यात्रामा प्रस्तुत हुने दुवै नाटकमा प्रकाश र संगीतसमेत परिचालन गर्नेछ ।

ADS