33, August 19, 2017
ADS
कुराकानी

'इन्टरनेटको अगुवाइ गरेको मान्छे हुँ, परम्परागत मिडियामा भर पर्दिनँ'

Shankar pokhrel 1

३ कात्तिक, काठमाडौं । नेकपा एमालेका चर्चित नेता शंकर पोखरेल असोजको पहिलो साता फेसबुकमा स्टाटस लेखेकै कारण विवादमा आए । मधेसीहरुले संविधानलाई कालो दिवस मनाएको विरोधमा पोखरेलले लेखेको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा चर्काचर्की बहस भयो । अन्ततः उनले त्यो स्टाटस हटाए ।

पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नेता पोखरेल आखिर किन यसरी सामाजिक सञ्जालमा टुच्च-टुच्च लेखिरहन्छन् ? यसबारे हामीले केही प्रश्नहरु सोधेका छौंः

ठूला नेताहरुले यसरी फेसबुकमा स-साना विषयमा सार्वजनिक झगडामा उत्रनु अशोभनीय कार्य हो भन्ने एकथरिको तर्क छ, कोही चाँहि जनतासँग प्रत्यक्ष सम्वादमा जोडिने नेताहरुको यो तरिकालाई सकारात्मक नै ठान्छन् । ठूला नेताहरुले यसरी फेसबुकबाट विवाद गर्नु सही हो कि गलत ?

नेता दुई प्रकारका हुन्छन् । एउटा ‘ओपनियन’ निर्माण गर्ने र अर्को चाहिँ व्यवस्थापन गर्ने । व्यवस्थापकको रुपमा भन्दा तपाईको कुरा ठीक हो । कम बोल्ने र व्यवस्थापन गर्ने ।

मुख्य नेतृत्वहरुमा व्यवस्थापकीय पक्ष प्रधान हुन्छ । यद्दपि मुख्य नेता विचारक पनि हो । उसले विचार प्रदान गर्छ । कम्युनिष्ट आन्दोलनको सन्दर्भमा आजको संगठन सिद्धान्तलाई हेर्दा मुख्य नेता व्यवस्थापक र विचारक पनि हो । मूलत उसले व्यवस्थापनलाई ध्यान दिनुपर्छ ।

त्यसपछि नेतृत्वको अर्को हिस्सा कस्तो हुन्छ भने ओपनियन -विचार) निर्माण गर्नु पर्ने हुन्छ । हरेक घटनाका पछाडि उसले ओपिनियन निर्माण गर्नुपर्ने हुन्छ । म के ठान्छु भने म व्यवस्थापनको तहको जिम्मेवारीमा छैन, मेरो जिम्मेवारी ओपिनियन निर्माण गर्ने हो । पार्टी नीतिको पोषण गर्ने जिम्मेवारी हो । आज मेरो स्कुलिङकको जिम्मेवारी भएका कारण यो मेरो जिम्मेवारीअन्तर्गत नै पर्छ ।

तपाईले मधेसी नेताहरुलाई जोडेर कालो दिवस मनाउनुहुँदैन भन्ने स्टाटस लेख्दा चर्को विरोध भयो हैन ? यसलाई कसरी स्मरण गर्नुहुन्छ ? 

हाम्रो सोसाइटीको चेतनाको स्तरमा कहिलेकाँही आग्रहले पनि काम गर्छ । जस्तो मैले मधेसी मोर्चाले कालो दिवस मान्ने कुरा रंगभेदी कुरा हो भनेर स्टाटस लेखें । मेरो स्टाटसको सार भनेको चाहिँ कालो दिवस भनेको कालो रंग भएकाहरुको प्रतिकको अपमान हो भन्ने आशय हो । तर, त्यसको गलत ढंगबाट व्याख्या गरियो । अर्थात कालाहरुको अपमान गर्‍यो भनेर व्याख्या गरियो ।

तर, त्यो फेसबुक स्टाटस त पछि डिलिट गर्नुभयो नि किन ?

मैले लेखेेको भाषा मान्छेले बुझेनन् भनेर मैले डिलिट गरिदिन उचित हुन्छ भन्ने अर्थमा हटाएँ । तर, त्यसलाई प्रोभोग गर्ने काम भयो । मैले त्यसपछि त्यसलाई किन हटाएको भन्नेबारे तीनवटा स्टाटस लेखें । एउटा मनसाय के थियो भन्नेबारे लेखें, दोस्रो कालोको सन्दर्भका बारेमा अश्वेत समुदायले कसरी हेर्छन् भन्ने रोवर्ट मुगावेको अत्यन्त चर्चित भनाइलाई राखें । त्यसले नेपाली समाजमा खारगरी युरोपियन दृटिकोणका आधारमा कालोप्रति हेयका दृष्टिकोणले हेर्ने चिन्तन राजनीतिमा प्रभाव परेको हो । त्यसबाट हामी मुक्त हुनुपर्छ भनेर मैले स्टाटस हालेको हुँ ।

फेसबुकमा गाली त दहै्र खानुभो । सामाजिक सञ्जालमा यस्तो गाली खानुपर्दा तपाईलाई कस्तो महसुस हुन्छ ?

गाली त मैले खुबै खाएँ । तर, म के ठान्छु भने कालोलाई नकारात्मक विम्बका रुपमा चित्रण गर्ने काममा कमी आयो  । त्यसपछि मधेसी मोर्चाको आन्दोलनमा कालो झन्डा फहराउने कति घटे, कति घटे !

यसको मतलव, विरोधका लागि कालो झण्डा देखाउनैहुँदैन भन्ने तपाईको तर्क हो ?

त्यो ठीक होइन । कालो जातिमाथिको त्यो अपमान हो । रंगभेदी चिन्तनको विम्ब हो । कालो दिवस मनाउने, कालोझन्डा देखाउने र कालोलाई खराब भन्नु भनेको समय-विशेषमा आफूलाई श्रेष्ठ ठान्दा यस्तो विम्ब जन्मिन्छ ।

तर, कालोलाई विरोधको प्रतीक मान्ने प्रचलन त संसारभरि छ नि हैन ?

तुलनात्मक हिसावले आर्यभित्र बाहुन-ؘक्षेत्रीले द्रवीणहरु कालो हुने र आर्यहरु गोह्रो हुने भएकाले उनीहरुले कालोलाई अशुभको रुपमा राखे ।

राजनीतिमा कालोलाई विम्बको रुपमा प्रयोग गर्ने प्रथा भारतीय राजनीतिको विषय होइन, यो युरोपबाट आएको हो । युरोपले आफूलाई मन नपर्ने दिन कालो दिन र मन नपर्नेको बिरोध गर्दा  कालो झण्डा देखाउन थाल्यो । त्यही चिज औपनिवेशिक भारतमार्फत हामीकहाँ भित्रियो ।

तपाई त कालाहरुकै पक्षमा हुनुहुँदोरहेछ, तर कालाहरुले नै तपाईको विरोध गरे, किन ? कि सामाजिक सञ्जालको बहस यस्तै हुन्छ ?

त्यो चिजलाई बोकेेर हामीले रंगभेद भित्र्याउनेको विरोध गर्दा समानताको पक्षमा रहेकाहरुको समर्थन हुनु पर्ने हो । तर, त्यसमा एकखालको आग्रह थियो । सबैभन्दा धेरै मलाई प्रहार गर्नेहरु माओवादीहरु थिए । सरकार भरखर परिवर्तन भएको थियो । त्यसलाई उनीहरुले अवसरको रुपमा लिए ।

जवकि त्यसको दुष्टिकोणको गहिराइ पछिमात्रै बुझ्नेछन् । मैले उठाएको कुरा मानवताको पक्षमा थियो । मधेसीहरुको पक्षमा थियो ।

तपाईको ध्यान अब प्रिन्ट मिडियामा सोसियल मिडिया अनि अनलाइनतिर जान थालेको हो ?

म आफैं नेपालमा सूचना तथा सञ्चारमन्त्री भएका बेला इन्टरनेटलाई स्थापित गर्ने कुराको अगुवाइ गरेको व्यक्ति हुँ । इन्टरनेटको अगुवाइ गरेको मान्छेले परम्परागत मिडियामा भर पर्ने कुरा उचित हुँदैन ।

अब स्वाभाविकरुपमा प्रिन्ट मिडिया विस्थापित हुन्छन् । र, इलेक्ट्रोनिक मिडिया अगाडि आउँछन् । र, यो अझै सस्तो (सुलभ) हुन्छ ।

अनलाइन खबर बाट

ADS