25, June 24, 2017
जीवनशैली

व्यवसायिक बन्दै लडाकु

Bees farming 22012017093508 1000x0

युद्धमा हिँड्दा एउटा आदर्श थियो, ‘हामी मेहनत गरी खाने वर्गको । दुस्ख गरेर खानुपर्छ । जनताको घरबाट सियोधागो पनि लिनु हुँदैन आदि।।।’ युद्धका दस वर्षसम्म कतैकतै यो आदर्शले काम पनि गर्‍यो तर शान्ति प्रक्रियाका दस वर्षमा धेरैले यी कुरा बिर्संदै गए । युद्धमा बोकेको दर्शन अहिलेसम्म पालना गर्ने कार्यकर्ता भेटाउन निकै मुस्किल भइसक्यो । त्रिपुर १ नारायणपुरका ३६ वर्षीय अजयदीप शर्मा र उनकी ३२ वर्षीया श्रीमती सुशीला भने त्यही आदर्शलाई व्यवहारमा उतार्न लागिपरेका छन् ।

जीवनको सुरुवाती ऊर्जा युद्धमै खर्चेको यो जोडी बाँकी शक्ति उद्यममा लगाइरहेको छ । अजयदीपले माहुरी पालेका छन् । सुशीला सहकारीको अध्यक्ष छिन् । रासायनिक मल ल्याएर किसानलाई वितरण गर्छिन् । बचत तथा ऋण परिचालन गर्छिन् । अहिले अनेक तरिकाले पैसा कमाउने बाटोमा लागेका नेता कार्यकर्तासामु फरक काम गरेर देखाउने बाटोमा लागेको यो जोडीले युद्धताका बोकेको दर्शन आत्मसात् गरिरहेको छ ।

अहिले उनीहरूको दैनिकी दिनहुँ माहुरीका लागि चारो हाल्ने, माहुरी चराउने, केही समस्या आयो कि त्यसको व्यवस्थापन गर्ने अनि समय पुगेपछि मह निकाल्ने र बेचेर आम्दानी लिने बनेको छ । ‘उहिले गरेको योगदानप्रति पनि गौरव नै छ । हामी आफ्नो आदर्शबाट कत्ति पनि विचलित छैनौं,’ उनले भने, ‘अहिले उद्यम गरेर खान्छौं, बाँकी समय सामाजिक सेवामा लगाउँछौं ।’ अजय एक सिजनमा ४र५ क्विन्टल मह बेचेर डेढ लाखभन्दा बढी रुपैयाँ आम्दानी गर्छन् । सुशीला सहकारीमा करिब ३० लाख रुपैयाँ परिचालनको नेतृत्व गरिरहेकी छन् । विगतमा आफूसँगै क्रान्तिमा होमिएका साथीहरूको हैसियत अहिले उस्तै छैन । कोही हिजो पुँजीपति भन्ने गरेको वर्गमा पुगिसके । कोही अनेक खालका अपारदर्शी व्यापार गरिराखेका छन् । ‘अहिले गरी खाने साथीहरू भेट्टाउनै गाह्रो भइरहेको छ । धेरै गराइखाने भइसकेका छन्,’ सुशीलाले भनिन् ।

‘मैले संगठन, सञ्चार र पत्रकारिता गरी ३ वटा क्षेत्रबाट पार्टीलाई योगदान गरें । सुरुमा म पत्रिका कुरियरका रूपमा रोल्पा र प्यूठानको सिमाना लख्नाटार र सल्यानको झिम्पेसम्म पुग्ने गर्थें,’ अजयले विगत सम्झे, ‘मेरो रुचि युद्ध चलिरहेका ठाउँमा पुगेर पत्रकारिता गर्नु थियो । त्यसैले मैले जनसेनासँगै रहेर पत्रकारिता गरें । लडाइँका प्रत्यक्ष कुरा प्रकाशन र प्रसारण गरें ।’

२०५९ असारमा जनसेनाको एक बटालियनमा समाहित भएर युद्ध पत्रकारका रूपमा सैन्य प्रशिक्षण र हतियारसम्बन्धी तालिम लिएका उनले भने, ‘म जनसेनाको हेडक्वार्टरमै कार्यरत रहें । मलाई लडाकुहरूको गतिशील जीवन र लडाइँमा जाँदाको मनोविज्ञान जान्ने, बुझ्ने अवसर मिल्यो ।’

‘मृतकलाई गाडदै, घाइतेलाई बोक्दै अनि भोकभोकै अगाडि बाटो छेकेर बसेको सेनासँग लड्दै गन्तव्यमा फर्कनु साह्रै कठिन थियो,’ उनले भने । सुशीला पनि स्कुल पढदापढदै युद्धमा होमिएकी थिइन् । दुई जना दाइ युद्धमा सहभागी थिए । दुवै दाइलाई युद्धमा गुमाइन् । सुशीला आफैं पनि पक्राउ परेर १८ महिना जेल बसिन् । २०५८ को शान्ति वार्ताका क्रममा उनी छुटिन् । ‘हिजो युद्धमा लागेर धेरै चिज गुमाइयो । परिवारका सदस्य, पढाइलेखाइ, जीवनको ऊर्जा,’ उनले भनिन्, ‘अहिले ती सबै त्याग, तपस्या र योगदानको राजनीति छैन । धेरै मानिस स्वार्थको पछि दौड्न थाले ।’

साभार कान्तिपुरबाट