13, March 29, 2017
अर्थ/वाणिज्य

वृद्धवृद्धाले धानेको हाटबजार

Old man 22012017093508 1000x0

काठमाडौं :-  केरौनको कालीथानमा लाग्ने साप्ताहिक हाटमा पसल सञ्चालन गर्ने अधिकांश ७०र७५ वर्ष उमेरका वृद्धवृद्धा छन् । घरका तन्नेरी कमाउन बिदेसिएपछि बाँकी परिवारलाई पाल्ने जिम्मेवारी बोकेका वृद्धवृद्धा व्यवसाय गरेर बसेका हुन् ।

केरौन ४ का सुकुम्बासी परिवारका ७५ वर्षीय रामबहादुर विश्वकर्मा भन्छन्, ‘काम नगरी गुजारा चल्दैन, छोरो बिदेसियो, नातिनातिना, बुहारी पाल्नैपर्छ ।’ उनकी ६८ वर्षीया पत्नी तारादेवी पनि बिहानैदेखि काममा लागेकी हुन्छिन् ।

बिहानै घर धन्धासँगै नातिनातिना स्यहारको काम सकिएपछि पतिसँगै तारादेवी डोको लिएर तरकारी खोज्न हिँड्छिन् । ‘कृषकको घरमा पुगेर तरकारी खरिद गरेपछि बोकेर हटियामा बिक्री गरेर बेलुका मात्रै फर्किन्छु,’ तारदेवीले भनिन्, ‘घर पुग्दापुग्दै राति भइसकेको हुन्छ, फेरि बिहान उठेपछि यस्तै दिनचर्या चल्दै आएको छ ।’ 

उनीहरूले बिहीबार कालीथान, शनिबार र बुधबार बैरवन, आइतबार दमौली र मंगलबार चिसाङमा लाग्ने साप्ताहिक हटियामा तरकारी बिक्री गरेर गुजारा गर्दै आएको बताए । उनले जीवनभरिमा गरेको आम्दानी ६ जना छोरी र २ छोराको बिहे गर्दैमा सकिएकाले जीवन जिउन काम गर्नुको विकल्प नभएको सुनाए ।

जेठो देवेन्द्र २ महिनाअगाडि साहुसँग मासिक ३ रुपैयाँको दरमा १ लाख ५० हजार ऋण लिएर वैदेशिक रोजगारीमा कतार गएको र कान्छो सरोज ओखलढुंगामा शिक्षक पदमा कार्यरत रहेको उनले बताए ।

उनी जस्तै केरौन ३ का ७३ वर्षीय तिलकबहादुर पौडेलको पनि अवस्था छ । १५ कट्ठा मात्रै खेतबारी भएका पौडेलले पनि साप्ताहिक हटियामा तरकारी लगायतका कृषिजन्य उत्पादन बिक्री गरेर गुजारा गर्दै आएको सुनाए । उनकी ६२ वर्षीया पत्नी दिलमाया पौडेलले पनि उनीसँगै तरकारी बोकेर हटिया जाने गरेको बताइन् । खेतीबारीले नपुग्ने र छोराहरूले कमाउन नजान्नुले बुढेसकालमा पनि बनिबुतो गरेर परिवार धान्न बाध्य रहेको उनले सुनाइन् । उनको ३ छोरामध्ये दुरबनबहादुर वैदेशिक रोजगारीमा साउदी अरब गएको र २ छोरा घरमा बसेको बताए ।कान्तिपुरमा समाचार छ ।