25, June 25, 2017
खेलकुद

नेपालले पहिलो खेलमा फिलिपिन्सको सामना गर्ने

Nepal nationa team 23012017081857 1000x0

काठमाडौं /  एएफसी सोलिडारिटी कप विजेता नेपाल एसियन कप २०१९ अन्तिम चरणको छनोटमा फिलिपन्स, ताजिकिस्तान र यमनसँगै समूह ‘एफ’मा परेको छ ।

अवुधावीमा सोमबार गरिएको ‘ड्र’मा नेपाल ‘पट ४’ मा रहेको थियो । त्यसैले नेपालले ‘होम एन्ड अवे’को आधारमा हुने अनितम चरणको छनोटमा स्वभाविक रुपमा बलियो टिमको सामना गर्नुपर्ने भएको छ ।

नेपाल फिफा वरीयताको १ सय ७५ औं स्थानमा छ । वरीयतामा तीनै प्रतिद्वन्द्वी नेपालभन्दा माथि छन् । यमन १ सय ४९, ताजिकिस्तान १ सय ३२ र फिलिपिन्स १ सय २२ औं स्थानमा छन् ।

नेपालले फिलिपिन्ससँग पछिल्ला समय निरन्तर हार बेहोर्दै आएको छ । र, उही टिमसँग फिलिपिन्समै २८ मार्च, २०१७ मा हुने खेलबाट नेपालले एसियन कप २०१९ मा अन्तिम चरणको छनोट सुरु गर्नेछ ।

अन्तिम चरणको छनोटमा २४ टिम सहभागी छन् । उनीहरुलाई ‘ड्र’मार्फत् चार–चार टिमको ६ समूहमा राखिएको छ । प्रत्येक समूहको शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापानलगायत विश्वकप २०१८ मा एसियाली छनोटको अन्तिम चरणमा पुगेका १२ देशले यसअघि नै एसियन कपको यात्रा पक्का गरिसकेका छन् ।