13, March 29, 2017
अर्थ/वाणिज्य

चौकुने सिमेन्टले बिजुली पाएन

Chaukune cement 27012017090447 1000x0

काठमाडौं / चौकुने क्षेत्रका चुनढुंगा उत्खनन गरी पश्चिम सुर्खेतको गुटुमा उद्योग सञ्चालन गर्न सरकारसँग सात वर्षअघि सम्झौता गरेको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजले विद्युत् नपाउँदा उत्पादन प्रभावित भएको छ । पटक–पटक म्याद थप्दै आएको कम्पनी स्थानीयस्तरको चर्को दबाबपछि उद्योग सञ्चालनका लागि तत्पर भए पनि सरकारले आवश्यक विद्युत् व्यवस्थापन गर्न नसकेको आजको कान्तपुर दैनिकमा खबर छ । 

सुर्खेतका व्यवसायी, दलका नेताबाट काम अघि नबढाएर चौकुने खानी क्षेत्र कब्जा गरेको भन्दै मुक्तिश्रीको चर्को आलोचना भएको छ । सम्झौतामा कम्पनीका लागि आवश्यक सुरक्षा, खानी क्षेत्रसम्म सडकको पहुँच र विद्युत् सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ । ‘लाइसेन्स होल्ड’ मै राख्न काम अघि नबढाएको आरोप लाग्न थालेपछि कम्पनी अन्ततस् आफ्नै लगानीमा सडक पहुँच मार्गको विस्तार गर्न बाध्य भएको हो । सडक पहुँचपछि अब कारखाना सञ्चालनका लागि कम्पनीलाई १४ मेगावाट विद्युत् आवश्यक पर्दछ । कम्पनीका प्रोजेक्ट कोअर्डिनेटर लोकबहादुर अधिकारीले विद्युतकै कारण काम रोकिने अवस्था आएको बताए । ‘सडक बनिसक्यो । मुआब्जा दिने प्रक्रिया सुरु भयो । सरकारले बिजुली उपलब्ध गराउन ढिलाइ गर्‍यो,’ उनले भने, ‘फेरि पनि स्थानीय कम्पनीले काम अघि बढाउँदैन कि भन्ने शंका गर्न थाले । सरकार आफैंले गरेको सम्झौता कार्यान्वयन गरेन ।’

कारखाना गुटुमा सञ्चालन हुने छ । खानी क्षेत्र गुटुको चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमध्ये १३ सय ८० रोपनीको मुआब्जा दिन कम्पनी तयारी छ । विभागले ०३५ देखि ३९ सालसम्म यहाँको चुनढुंगा परीक्षण गरेर सिमेन्टका लागि योग्न प्रमाणित गरेको थियो । करिब ८ अर्ब लागत अनुमान गरिएको उद्योगका लागि प्रत्यक्षरअप्रत्यक्ष गरी ४ हजारले रोजगारी पाउने दाबी गरिएको छ । दैनिक १५ सयदेखि पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । लागत, उत्पादन र क्षेत्रफलका हिसाबले यसलाई मुलुककै ठूलो सिमेन्ट कारखानाका रूपमा दाबी गरिएको छ । 

वीरेन्द्रनगर सब–स्टेसनबाट बिजुली पाउन सम्भव छैन । कारखानाका लागि आवश्यक विद्युत् उपलब्ध गराउन सक्ने हाइटेन्सन लाइन छैन । कम्पनीका सिनियर माइनिङ एडभाइजर सरोजकुमार श्रीवास्तवले विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई पत्राचार गरिसकेको जनाए । ‘केन्द्रीय प्रसारण लाइनबाट विद्युत् ल्याउनुको विकल्प छैन । यस क्षेत्रमा अरु कुनै पाइपलाइन डेप्लमिङ पनि भएको छैन्,’ श्रीवास्तवले भने, केन्द्रलाई आवश्यक ठाउँमा विद्युत् पुर्‍याउनै समस्या छ । सरकारले हाम्रा माग बेवास्ता गरिरहेको छ ।’