यौन दुराचारको आरोपपछि मेघालयका गभर्नरद्वारा राजीनामा

 उत्तरपूर्वी भारतीय राज्य मेघालयका गर्भनरमाथि आफ्नै विभागअन्तर्गतका दर्जनौँ कर्मचारीद्वारा पदबाट हटाइनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेपछि उनले राष्ट्रपति समक्ष बिहीबार पेस गरेको राजीनामा स्वीकृत गरिएको छ । 

मेघालयका गभर्नर भी. सान मुगानाथनले राष्ट्रपति प्रणव मुखर्जीसामु आफू उक्त पदबाट हट्न चाहेको जनाउँदै राजीनामा पेस गरेका थिए । 

सान मुगानाथनले गभर्नरको कार्यालयलाई ‘किशोरीहरुको क्लब’ बनाएको र अवाञ्छित क्रियाकलाप गर्ने गरेको आरोप लगाउँदै करिब ८० जना कर्मचारीद्वारा हस्ताक्षर गरिएको प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको निवेदन सामाजिक सञ्जालमा भाइरल बनेपछि सो राजीनामा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

निवेदनमा किशोरीहरु गभर्नरको कार्यालयमा जाने सिधा अनुमति पाउने गरेका र केहीको सान मुगानाथनको सयन कक्षसम्म पनि पहुँच हुने गरेको दाबी गरिएको थियो । 

सो निवेदन स्थानीय सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा व्यापक रुपमा आएको थियो । निवेदनमा गभर्नरले आफ्ना कर्मचारीलाई अन्य ठाउँमा सरुवा गरी आफ्नो सहयोगीका रुपमा किशोरीहरुलाई पदस्थापन गर्ने गरेको दाबी गरिएको छ । 

यसलाई निवेदकले अनैतिक क्रियाकलापको संज्ञा दिएका छन् । मेघालय उत्तरपूर्वी भारतको सात राज्यमध्ये एक हो । भारतीय उत्तरपूर्वी राज्य मेघालय प्राकृतिक स्रोतका लागि प्रसिद्ध छन् । 
–रासस/एएफपी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय