किन छैन बैंकमा पैसा ?

काठमाडौं /  मंसिर मसान्तको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम २० दशमलव ६ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकार ३० दशमलव ४ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो । पहिले पाँच महिनामा नै लक्ष्यभन्दा डेढ गुना बढी कर्जा प्रवाह भएपछि यस्तो समस्या आएको राष्ट्र बैंकका अधिकारीहरूले पनि बताउँदै आएको खबर आजको नयाँ पत्रिकामा छ ।

सरकारको ढुकुटीमा २ खर्ब ३० अर्ब रुपैयाँभन्दा धेरै नगद मौज्दात राखेको छ । ‘कर असुली गरेर जम्मा गरेको यति ठूलो रकम सरकारले खर्च नगर्दा वित्तीय प्रणालीमा निक्षेप थपिन पाएन,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार ७ माघसम्म बजेट खर्च २ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यो कुल बजेटको २७ दशमलव ७२ प्रतिशत हो ।

सरकारी स्वामित्वका र केही बहुराष्ट्रिय वाणिज्य बैंकहरूबाहेक अरू बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार गर्ने क्षमता तत्कालका लागि लगभग गुमाइसकेका छन् । यो अवस्थालाई बैंकरहरूले ‘क्रेडिट क्रन्च’ भनेका छन् । दुई हप्ताअघिको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले १७ खर्ब ९७ अर्ब स्वदेशी निक्षेप स्वीकार गरेका छन् भने १५ खर्ब ९० अर्ब कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको ८८ दशमलव ५ प्रतिशत हुन्छ ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले निक्षेपको ८० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउँछन् । तथापि, यस्तो गणना गर्दा बैंकहरूले स्वदेशी निक्षेपमा पुँजी पनि जोड्न पाउँछन् । त्यसो गर्दा पनि बैंकहरूको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको नजिकै पुग्छ । ‘यस्तो अवस्थाले बैंकहरूलाई थप कर्जा प्रवाह गर्न लगभग बाटो बन्द गरेको छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले भने ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले गत मंसिर मसान्तसम्ममा सबै किसिमका बैंक तथा वित्तीय संस्थाले २२ खर्ब १३ अर्ब ५९ करोड निक्षेप संकलन गरेर १८ खर्ब ३७ अर्ब ९८ करोड लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म बैंकहरूले अनुत्पादक क्षेत्रमा भारी कर्जा विस्तार गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो एक वर्षमा ऋणीले आफूखुसी खर्च गर्न पाउने ओभरड्राफ्ट कर्जा ८७ अर्ब १३ करोड बढाएका छन् भने सवारीसाधन खरिदमा दिइने हायर पर्चेज कर्जा ५२ अर्ब ५६ करोड रुपैयाँ बढाएका छन् । बितेको एक वर्षमा सेयरको धितोमा जारी गरिने मार्जिन प्रकृतिको कर्जा ११ अर्ब ५९ करोड, आवासीय घरकर्जा ३५ अर्ब ६२ करोड र रियल इस्टेट कर्जा २७ अर्ब ६९ करोड रुपैयाँ थप लगानी गरेका छन् । यस किसिमको कर्जा विस्तारलाई राष्ट्र बैंकले वित्तीय क्षेत्रमा स्थायित्व कायम राख्न चुनौतीका रूपमा व्याख्या गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय