21, May 24, 2017
समाचार

फास्टट्र्याकको लागि अनसन

Fast track 06022017071137 1000x0 %281%29

बारा /निजगढ बिमानस्थल, तराइ र काठमाडौं जोड्ने फास्टट्र्याक तथा तामागढी–सिम्रौनगढ हुलाकी मार्ग निर्माणको लागि स्थानीयस्तरमा व्यापक दबाव बढेको छ । यी आयोजना निर्माणमा ढिलाई भइरहेकोप्रति दबाव दिने उद्देश्यले बारा र रौतहटमा गरी आधा दर्जन समिति सक्रिय छन् । 

फास्टट्याक–विमानस्थल संघर्ष समितिले तीन दिनदेखि निजगढस्थित मुलद्वारमा रिले अनशन बस्दै आएको छ । जंगलको लाथ्रा र कुट प्रयोग गरी बनाइएको छाप्रोमा उनीहरु अनसन बस्दै आएका हुन् ।

अनसन सुरुअघि आयोजना गरिएको दबाव सभामा व्यवस्थापिका संसदका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व सभासद जयराम दहाल, काग्रेसका नेता शम्भु बुढाथोकी, राप्रपाका युवा नेता विनोद भारतीलगायत सहभागी थिए । 

यो अनसन तीन महिना चल्ने संघर्ष समितिका संयोजक रविराज दंगालले बताए । यसअघि समितिले फास्टट्र्याकमा पैदल यात्रा गरी काठमाडौं पुगेर सरकार तथा सरोकारवालालाई दबाव दिएको थियो ।

सोही संघर्षको कार्यक्रमअन्तर्गत यो अनसन सुरु गरिएको उनले बताए । बिहान सात बजेदेखि बेलुका सात बजेसम्म १० देखि १५ जनाको समूह र बेलुका सात बजेदेखि विहान सात बजेसम्म अर्को समूह गरी दिनहुँ दुई समूह अनसन बस्दै आएका छन् ।

यसैगरी, निजगढ, कोल्हवी, टाँगियावस्ती र काठमाडौं सरोकार समितिको समन्वयमा बारा र रौतहतका सांसदहरुको उपस्थितिमा कोल्हवी बजारमा शनिबार जनदबाव सभा र र्‍याली गरियो । रौतहट ३ का सांसद प्रभु साह, बारा क्षेत्र नं। ६ का सांसद पुरुषोत्तम पौडेल, रौतहट ५ का सांसद सुनिल यादवलगायतको उपस्थिति थियो । 

सरकारलाई दबाव दिने र ध्यानाकर्षण गराउने उद्देश्यले र्‍याली गरिएको जनदबाव समूहका संयोजक ढुण्डीराज उप्रेतीले बताए । सांसद साहले फास्टट््रयाक र विमानस्थल आयोजना यस क्षेत्रका बासिन्दाको मात्र न भई सम्बृद्धिको लागिसमेत जरुरी भएको बताए । 

त्यसैगरी, सांसद पौडेलले यस आयोजनाबाट हुने फाइदालाई महत्व दिएर जनदबाबमा जुट्न आग्रह गरे । उनले आयोजनाको काम सुरु गर्न बजेटभन्दा पनि सरकारी तत्परता र इच्छाशक्तिको अभाव देखिएको बताए । 

सांसद सुनिल यादवले आफूहरुले तीनवटै आयोजना निर्माणको लागि सरकारलाई झक्झकाउँदै आएको बताए । उनले विकास कार्यमा राजनीति गर्न नहुने र सबै दलका कार्यकर्ता मिलेर दबाव दिनुपर्ने बताए । 

निजगढ सरोकार समितिले केही दिनअघि निजगढमा र्‍याली गर्दै मानवसाङ्लो प्रदर्शन गर्नेलगायतको संघर्षको कार्यक्रम सार्वजनिक गरिएको समितिका संयोजक एकबहादुर श्रेष्ठल बताए । गत माघ ४ मा व्यवस्थापिका संसदअन्तर्गतका विकास समितिका सभापति रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा दबाव र्‍याली गरिएको थियो । आजको कान्तिपुरमा समाचार छ ।