25, June 25, 2017
राजनीति

‘सरकारको चाल हाँसको, न कुखुराको जस्तो भयो’

Prakashchandra lohani 5898497235aeb0.86880724

सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको गतिविधिप्रति असन्तोष जाहेर गरेको छ । गठबन्धन संस्कृतिभन्दा बाहिर गएको, सत्ता सञ्चालनका कुनै पनि काममा आफ्नो पार्टीसित सल्लाह नलिइएको उल्लेख गर्दै राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताए ।

‘पार्टी सरकारमा रहेको भन्नुमात्रै छ । कुनै विषयमा सल्लाह छैन । राष्ट्रिय समस्या समाधान पनि भएनन्,’ लोहनीले सोमबार कान्तिपुरसँग भने, ‘हाम्रातर्फबाट मन्त्रिपरिषदमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भइरहेको छ ।’

उनले यो सरकारले स्थानीयदेखि कुनै पनि तहको चुनाव नगर्ने प्रस्ट भएको समेत बताए । मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्न नसकेको र सत्तामा सहभागी हुँदा गरिएका प्रतिबद्धताअनुसार चुनावसमेत गराउने संकेत नदेखिएको उनले बताए । 

लोहनीका अनुसार यी विषयमा केन्द्रीय कार्यसम्पादन बैठक चाँडै बसी आवश्यक निर्णय लिने तयारीमा राप्रपा छ । पार्टीका नेताहरूलाई फागुन पहिलो साता हुने राष्ट्रिय महाधिवेशनको चटारोसमेत भएकाले बैठकको मिति तय हुन सकेको छैन ।

नेता लोहनीले कांग्रेस–माओवादी केन्द्र गठबन्धनले राष्ट्रिय समस्या सुल्झाउनुको सट्टा झन् बल्झाएको दाबी गरे । ‘न हाँसको चाल, न कुखुराको चाल जस्तो भयो सरकार । यस्तो बेला सहभागिताले हाम्रो पार्टीलाई राम्रो गर्दैन,’ लोहनीले भने । राप्रपाले यसअघि नै मधेसको समस्या चाँडो सुल्झाउन नसकेको, चुनाव केन्द्रित नभएको भन्दै सरकारको आलोचना गरिसकेको छ ।
आजको कान्तिपुरमा समाचार छ ।