13, March 29, 2017
राजनीति

चुनावका लागि मतदाता फकाउन प्रचण्डले प्याकेज कार्यक्रम सार्वजनिक गरेको अारोप

1 09021 1 dahal  3  09022017080010 1000x0

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला धाउने क्रम बाक्लिएको छ । उनी दोस्रो पटक प्रधानमन्त्री भएयता ४ पटक यहाँ आइसकेका छन् । चितवनको विकासका लागि छिट्टै ‘प्याकेज’ कार्यक्रम ल्याउने तयारीमा रहेको सुनाउने गरेका उनले बुधबार चौथो पटक आउँदा भने प्याकेजका विभिन्न कार्यक्रम घोषणा गरे ।   

चितवन प्रदर्शनी केन्द्र शिलान्यास गर्ने क्रममा उनले जिल्लाका विभिन्न ठाउँका लागि झन्डै १ अर्ब रुपैयाँ बराबरका कार्यक्रम सार्वजनिक गरे । यसअघि पुस २ गते यहाँ आउँदा दाहालले चितवनबाट निर्वाचनमा उठ्ने जनाउसमेत दिएका थिए । चितवनबाट चुनाव लडदै त हुनुहुन्न भन्ने प्रश्नमा उनले भनेका थिए, ‘असम्भव भन्ने कुरै भएन ।’ त्यसयता जनता र जिल्लासित नजिक हुन प्याकेज कार्यक्रम घोषणाको तयारीमा रहेको उनले बताउने गरेका थिए । 

‘दोस्रोपटक प्रधानमन्त्री भएर पटकपटक चितवन आएको छु,’ उनले भने, ‘चितवन कर्मथलो र राजनीतिक विकास भएको प्रधानमन्त्री हुनुको नाताले मसँग यहाँका सबै दल, जनता, बुद्धिजीवीले केही अपेक्षा गर्नु स्वाभाविकै हो ।’ कार्यक्रममा उनले प्रधानमन्त्रीको हैसियतले चितवन मात्र भन्न नमिल्ने भन्दै घुमाउरो पाराले प्याकेज कार्यक्रम घोषणा गरेका थिए । ‘जिल्लावासीले मबाट गरेको अपेक्षा अस्वाभाविक छैन, मैले केही न केही यो पटक घोषणा गर्छु भनेको थिएँ,’ उनले भने, ‘प्रारम्भिक रूपमा कम्तीमा पनि मैले र यो सरकारले गरेका कुरा भन्छु, जुन निर्णयको नजिक र आउने क्याबिनेटबाट निर्णय गर्छौं।’ 

उनले बुधबार ९८ करोड ८ लाख ९० हजार बजेटसहितको प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् । औद्योगिक प्रदर्शनी केन्द्र स्थापनाका लागि १५ करोड सहयोग गर्ने उनले बताए । जसअनुसार पहिलो काम चित्रवन वा शारदानगर क्षेत्रमा रंगशाला निर्माणका लागि करिब ५० करोड बजेट व्यवस्था गरिएको छ । यो काम अगाडि बढाउने प्रक्रिया सुरु भएको पनि उनले सुनाए । त्यस्तै भरतपुर र पर्सामा ४र४ करोडको लगानीमा कभर्ड हल निर्माण थालिने छ । ‘जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा खेल मैदान निर्माणका लागि ५०र५० लाखका दरले बजेट व्यवस्था गरिने छ,’ उनले भने ।  

विशेष आर्थिक क्षेत्र विकास समितिअन्तर्गत चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको समेत दाहालले जानकारी दिए । आउने क्याबिनेटमै यसको नीतिगत निर्णय गरेर बजेट व्यवस्था गर्ने र अगाडि बढाउने सोच रहेको उनको भनाइ थियो । उनले पैसा अभावले अगाडि बढ्न नसकेका कार्यक्रममा रकम थपेर पूरा गर्न आफू अघि बढेको बताए । पटिहानीबाट सीतामाई हुँदै केशर बाघसम्मको १० किमि जंगल किनारमा वन्यजन्तुबाट सुरक्षाका लागि फाउन्डेसनसहितको मेस जाली लगाउन थप रकम व्यवस्था गरिएको उनले जनाएका छन् । प्रधानमन्त्री दाहालका अनुसार वीरेन्द्र क्याम्पस पछाडि एकीकृत ढल आयोजना, बालमन्दिर अगाडि सडक निर्माण र सोलारका लागि रकम व्यवस्था गरिएको आजको कान्तिपुरमा समाचार छ ।