विद्यार्थी भर्ना विवाद : अमृत साइन्स क्याम्पसमा झडप

 

काठमाडौं २९ माघ । अमृत साइन्स क्याम्पसमा विद्यार्थी भर्ना विषयमा विवाद हुँदा झडप भएको छ । विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा झडप भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले लाठीचार्ज गर्नु परेको बताएको छ।

अनेरास्ववियु क्याम्पस कमिटिका सचिव सविन वाग्लेका अनुसार प्रहरीले लाठीचार्ज गर्दा केही विद्यार्थी घाइतेसमेत भएका छन् । क्याम्पसले आफैंले जारी गरेको सूचना विपरित विद्यार्थी भर्ना गरेको भन्दै विद्यार्थी आपत्ति जनाएका हुन्।

क्याम्पस प्रमुख राजेश मकाजु र सहायक क्याम्पस प्रमुख डा. पुष्प हुमागाईले नै सहमति उल्लंघन गरेर बिना रसिद नै विद्यार्थी भर्ना गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटिले विरोध गरेको सहसचिव वाग्लेले जानकारी दिए ।

क्याम्पसले विद्यार्थी भर्ना गरेपनि रसिद भने दिएको छैन् । ‘सहायक क्याम्पस प्रमुखले नाम टिप्ने र प्रमुखले पैसा संकलन गर्ने तर रसिद नदिने कार्य नियम विपरित छ’ उनले भने ।

क्याम्पसले सबै विद्यार्थी संगठनको सहमतिमा माघ २७ गतेसम्म विद्यार्थी भर्ना गरिसक्न सूचना जारी गरेको थियो । क्याम्पसले फागुन १ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यातालिका अनुसार २७ गतेसम्म विद्यार्थी भर्ना गर्न सूचना सार्वजनिक गरेको थियो। सूचना विपरित सीमित विद्यार्थी संगठनको प्रभावमा शुक्रबार भर्ना लिएको उनको आरोप छ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य माधव पन्तले एकमुष्ठ गरिएको भर्ना रोक्नु पर्ने बताए । ‘आफू निकटका विद्यार्थी संगठनलाई लक्षित गरी प्रमुखले नै त्यस्तो गर्नु निन्दनीय छ’ उनले भने ।

क्याम्पस प्रमुखले प्रहरी लगाएर विद्यार्थीलाई कक्षाबाट निकालेर पठनपाठन थप्प बनाएका थिए । साथै उनले क्याम्पस प्रशासनका कर्मचारीलार्इ काम गर्न दिएका थिएनन् । क्याम्पस प्रमुखले प्रहरी लगाएर प्रशासनका कर्मचारीलार्इ काम गर्नमा रोक लगाइ  मोबाइल स्वीच अफ गर्न निर्देशन दिएका थिए ।

अनेरास्ववियुले क्याम्पसको उक्त गतिविधिबारे त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पुगी भिसी, रजिष्ट्रार, रेक्टरलगायतको ध्यानाकर्षण गराएको आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय