13, March 29, 2017
विचार/ब्लग

श्रीस्वस्थानी भ्रम र यथार्थ

Swasthani 589d28f828aec1.39967194

श्रीस्वस्थानी व्रतकथा हिन्दुहरूको एक प्रसिद्ध धार्मिक ग्रन्थका रूपमा स्थापित छ । सुख, शान्ति र ऐश्वर्य बढाउने भएकाले स्वस्थानीलाई श्रीस्वस्थानी पनि भनिएको हो । देवी भनेकी शक्ति पनि हुन् । बिनाशक्ति शिवको अर्थ रहँदैन । देवीको आराधना भनेको शक्तिको खोजी पनि हो । जीवनमा आइपरेका हरेक समस्या समाधानको लागि देवीको उपासना गर्नुपर्छ ।

श्रीस्वस्थानीमा देवीको उपासना गर्नु र देवीको प्रसादबाट असम्भव काम पनि साध्य भएका छन् भन्ने देखाइएको छ । तीर्थ गर्न टाढा नगई स्वस्थानकै सम्मान गर्नुपर्छ । स्वस्थानीमा भएका देवदेवीको उपासनाले नै मनोकामना पूरा हुन्छ । स्वस्थानीको अर्को महत्व सतीदेवीको अंग पतन भएका विभिन्न ठाउँमा अनेकथरी ईश्वरीको उत्पत्तिको कुराबाट पुष्टि हुन्छ 

आफ्नै देशमा रहेका विभिन्न शक्तिपीठको संरक्षण गर्न सक्यो भने देशमा धार्मिक पर्यटनको विकास हुन सक्ने कुरा निर्विवाद छ । समस्यालाई समाधान गर्न मातृशक्ति नै प्रभावकारी हुन्छ भन्ने देखाउन पार्वती, गोमा आदिले गरेको व्रत नै बलियो प्रमाण हो । स्वर्ग मत्र्य पाताल सबैतिर स्वस्थानी देवीको महिमा फैलाउनुपर्छ भन्ने पार्वतीको कथनले आफ्नै स्थानलाई माया गर्नुपर्छ भन्ने राष्ट्रवादी धारणाको विकास गराएको प्रस्ट देखिन्छ ।

सृष्टि वर्णनका क्रममा पृथ्वीको उत्पत्ति, ग्रहहरूको चक्र, पृथ्वीको आयु, व्यास, सूर्यचन्द्रको उत्पत्ति, आयु र महत्वव आदिको पुष्टि आधिकारिक ढंगले गरिएको छ । यहाँ प्रयोग भएका विभिन्न विमान र त्यसमा सवार भएर गरिएको यात्राले आजका हवाईजहाज तथा रकेट निर्माणको आधारभूमि तयार गरेको हो भन्न सकिन्छ । विभिन्न ठाउँमा जानको लागि तयार गरिएका रथ आजका सडक यातायातका साधन निर्माणका आधारस्तम्भ हुन् ।

आजका विश्व ध्वस्त गर्न सक्ने गोलाबारुद आदिको निर्माण गर्ने आधारभूमि त्यतिबेलाका विभिन्न हातहतियार नै हुन् । मानिसको मस्तिष्कमा सबैभन्दा पहिले धारणाको विकास हुनुपर्दछ र धारणाको विकास गराउने काम धार्मिक पुस्तकहरूले गरेका छन्, त्यसको दरिलो उदाहरण श्रीस्वस्थानी व्रतकथा हो । प्रकृतिका विभिन्न वस्तुको प्रयोगकला, रसायन विज्ञान, अर्थशास्त्र, भूगोल, युद्धकला, कृषिविज्ञान आदिको ज्ञान स्वस्थानीमा प्रस्तुत गरिएको छ ।

लामो समय तपस्या गरेपछि फल प्राप्त भएको देखाइएबाट जस्तोसुकै कठिन काम पनि निरन्तर गर्दा त्यसमा सफलता प्राप्त हुन्छ भन्ने बुझाउनु हो । यसले मानिसलाई कर्तव्यनिष्ठ र श्रमप्रति बफादार बनाउँछ । सात द्वीप, सात समुद्र आदिको चर्चा त्यतिबेलादेखि नै भएको देखिन्छ ।

गणेशको शिर छेदन गरी हात्तीको शिर ल्याएर जोडेको प्रसंग आएपछि हामी हात्तीको टाउको मानिसको घाँटीमा जोड्न कहीं मिल्छ भन्दै तर्क मात्र गरिरहेका हुन्छौं । आजका मानिसमा अंग प्रत्यारोपण गर्न सकिन्छ भन्ने धारणाको विकास यस्तै विवरणबाट थाहा हुन आउँछ । यसको अर्को उदाहरण दक्ष प्रजापतिको घाँटीमा बोकाको टाउको जोडेको प्रसंग पनि हो ।

पछिल्लो चरणमा मानिसहरूले सबैभन्दा बढी बहस गरेको विषय भनेको स्वस्थानी व्रतकथा पुरुषवादी भयो अथवा महिलाविरोधी भयो भन्ने नै हो । यस्तो अभिव्यक्ति अलिबढी भावावेगमा आएको जस्तो लाग्छ । त्यतिबेलाको समाजभन्दा आजको समाज अझ बढी महिलाविरोधी देखिएको छ । स्वस्थानी कथामा शिवले तीनवटा बिहे गर्दा पनि दाइजो लिएको वा दाइजोको कारण पत्नीलाई हिंसा गरिएको देखिँदैन, बरु आजको समाज यसबाट अछुतो छैन ।

शिव र पार्वतीको माया आजका मानिसको लागि अनुकरणीय सावित भएको छ । त्यस बेला पनि पत्नीलाई अंकमाल गर्ने र काखमा राख्ने गरेको कुराको चर्चाले आजका गृहस्थीलाई पति-पत्नीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने ज्ञान दिएको छ । पत्नीबिनाको घरगृहस्थी सहज रूपमा चल्न सक्दैन । घर गृहस्थीमा पति-पत्नीको सरसल्लाह हुनु जरुरी छ भन्ने प्रशस्त उदाहरण देख्न सकिन्छ । शिव र सतीदेवीको पासा खेलाइ, दक्ष प्रजापति र विरणीको यज्ञ गर्ने बेलाको सरसल्लाह दुःखी दरिद्रलाई स्वस्थानीको व्रतविधि सिकाउनुपर्छ भनी पार्वतीले शिवसँग गरेको सल्लाह आदि यसका बलिया उदाहरण हुन् ।

पत्नीको मृत्युको शोकमा मृत शरीरलाई बोकी शरीर गलेर नसक्किएसम्म बोकेर हिँड्ने शिव कदापि महिलाविरोधी हुन सक्दैनन् । पत्नीको मृत्युशोकमा अनेक ठाउँ बेहोसी झैं भौंतारिने शिवको कथा पढेकाले स्वस्थानी महिलाविरोधी छ भनी व्याख्या गर्नु हिन्दु धर्म र संस्कृति नबुझ्नु हो । कृतिमा कति कुरा महिला र पुरुष दुवैलाई सचेत गराउनको लागि प्रस्तुत गरिएको छ, जुन आजको उग्र स्वतन्त्रताभन्दा अलि माथि उठेर नैतिकताको पाठ सिकाउने खालको छ ।

श्रीस्वस्थानीमा नैतिकता, अनुशासन, जिम्मेवारीको पाठ सिकाइएको छ । सुमेरु पर्वत घुम्न छोडेर आफ्नै मातापिताको परिक्रमा गर्नु गणेशको बाबुआमाप्रतिको श्रद्धाभाव हो । गर्भमै छँदा बेपत्ता भएका आफ्ना पिताको खोजीमा जाने नवराजले पूर्वजप्रतिको कर्तव्य पूरा गरेका छन् । बाबुआमाको सम्मानभन्दा ठूलो धर्म संसारमा अरू कुनै छैन भन्ने नैतिक आदर्श यस कृतिले दिएको छ । पति-पत्नी एकअर्कामा समर्पित हुनुपर्छ भन्ने कुरा कथामा विभिन्न ठाउँमा आएको छ । किरातीको रूप लिएर शिवले पत्नी मप्रति कति समर्पित छिन् भन्ने परीक्षा लिएका छन् भने पार्वतीले पनि किरातिनी भएर त्यही काम गरेकी छिन् ।

छोरो राजा र बुहारी रानी भएपछि गोमाले राजपाटको सम्पूर्ण जिम्मा बुहारीलाई लगाउँदै ढुकुटीको साँचोसमेत सुम्पेको र आफू अभिभावकको रूपमा रहेको देखाइएबाट स्वस्थानी व्रतकथाले युवा वर्गलाई शक्ति हस्तान्तरण गर्नुपर्ने सन्देश दिएको छ ।

गल्ती गर्ने पुरुष पनि दण्डित भएका छन् । वृन्दाको पतिव्रता धर्म नष्ट गर्न गएका विष्णु कोठामा थुनिन बाध्य हुनु तथा वृन्दाको श्राप लाग्नु दण्ड हो । पार्वतीलाई छल्न जाँदा जालन्धर मारिनु पनि दण्डै नै हो । विष्णु जस्ता भगवान्ले पनि गल्ती गर्दा दण्डित हुनुपरेको कथा यहाँ देखाइएको छ, त्यसैले पनि यो कृति महिलाविरोधी छ भन्न सकिँदैन । सात वर्षकी गोमालाई सत्तरी वर्षको उमेरमा विवाह गर्ने शिवशर्मा परदेशमा मर्न पर्नु पनि एक किसिमको सजाय नै हो ।

नवराजले गरेको राज्य व्यवस्थाबाट आजका राजनीतिज्ञले राज्यसञ्चालन गर्न सिक्नुपर्ने देखिन्छ । छोरो राजा र बुहारी रानी भएपछि गोमाले राजपाटको सम्पूर्ण जिम्मा बुहारीलाई लगाउँदै ढुकुटीको साँचोसमेत सुम्पेको र आफू अभिभावकको रूपमा रहेको देखाइएबाट स्वस्थानी व्रतकथाले युवा वर्गलाई शक्ति हस्तान्तरण गर्नुपर्ने सन्देश दिएको छ । राज्य सञ्चालक भएपछि उच्च वर्गदेखि निम्न वर्गसम्मका जनतालाई समान किसिमले न्याय दिनुपर्छ भन्ने आजका राजनीतिज्ञले सिक्नुपर्नेछ ।

आफ्नो स्थानको मर्यादा बिर्सेर घमन्ड गर्दा जोकोहीको पनि नाश हुन्छ भन्ने उदाहरण यस ग्रन्थमा प्रशस्त पाइन्छ । कथाको सुरुआतमै मधु र कैटवको कथाबाट थाहा हुन आउँछ । त्रिपुर दाह पनि यसको उदाहरण हो । घमन्ड र ईष्र्यामा लिप्त भएर अर्काको राज्य हत्याउन खोज्ने तारकासुरको हार र ईश्वरको जित देखाइएबाट सत्यको जित अवश्य हुन्छ भन्ने बोध गरिएको छ । तपस्यामा लीन भएका शिवको छातीमा वाण प्रहार गर्ने कामदेवको अन्त्य भएको देखाइएको छ ।

श्रीस्वस्थानीमा महिलाले गरेको नराम्रो कामको पनि चर्चा छ । आफ्ना पतिबाट यौनानन्द पूरा नभएपछि भ्रम भएर हिँडेका शिवको पछि लागेको ऋषिपत्नीहरूको चर्चा महिलाविरोधी हो कि अथवा महिलालाई सचेत गराएको हो बुझ्नु जरुरी छ ।

पुरुषले बहुविवाह गरे भन्दै विरोध गर्नेले आफ्नो पति छँदाछँदै खाइलाग्दो बलशाली पुरुष देख्दा त्यसकै पछि लाग्ने ऋषिपत्नीहरूलाई प्रस्तुत गर्नु, आफ्नै पतिलाई अर्काकी पत्नी मभन्दा पनि राम्री छे भन्दै छल गर्न पठाउने वृन्दालाई देखाउनु, आफ्नो पति हराएका बाबुको खोजीमा जाँदा एक्ली र दुःखी सासूलाई छोडेर माइत गएर सुख काट्ने चन्द्रावती आदिलाई प्रस्तुत गर्नुलाई महिलाविरोधी नभनी आजको समाजका महिलाले त्यस्तो नगरी सुन्दर घर गृहस्थी सञ्चालन गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ ।

मानिसलाई शिक्षा दिन सकारात्मक वा नकारात्मक विभिन्न घटनालाई प्रस्तुत गरिएको हुन्छ, त्यो नै साहित्य हो । स्वस्थानी कथालाई अति सामान्य विश्लेषण गरी महिलाविरोधी भन्नुभन्दा गहिरिएर अध्ययन गर्नु बेस हुनेछ । 

अन्नपूर्णपोष्टबाट साभार गरिएको हो