17, April 24, 2017
समाचार

प्रधानसेनापतिले भने, ‘सुरक्षा चुनौती बढ्दै’

Pr 100 02 10022017065726 1000x0

प्रधानसेनापति राजेन्द्र क्षत्रीले आन्तरिक सुरक्षा चुनौतिहरू बढ्दै गइरहेको बताएका छन् । उनले परम्परागतभन्दा फरक खालका सुरक्षा चुनौतीहरू थपिएको बताएका छन् ।

प्रधानसेनापतिले विशेषगरी आन्तरिक सुरक्षा चुनौतीहरु बढ्दै गएको अवस्थामा यसले अर्थतन्त्र, जीव र जलवायु तथा सामाजिक सदभावमा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरे । उनले हालको सुरक्षा वातावरण परिवर्तनशील, अनिश्चित, जटिल तथा अस्पष्ट रहेको समेत बताए । 

शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ‘रक्षा र कुटनीतिको माध्यमबाट राष्ट्रिय सुरक्षा अभिवृद्धि’ विषयक एक दिने सम्मेलनमा प्रधानसेनापति क्षत्रीले सुरक्षाबारे गम्भिर चासो व्यक्त गरेका हुन् । 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार क्षत्रीले रक्षा र कुटनीतिले राष्ट्रिय सुरक्षा अभिवृद्धिमा खेल्न सक्ने भूमिकाबारे जोड दिएका थिए । उनले जटिल चुनौतीहरूलाई सामना गर्न एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्दै कुटनीति एउटा अति महत्त्वपूर्ण माध्यम रहेको समेत बताएका थिए । 

कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई आर्थिक हिसाबले थप सवल पार्नु पर्ने र यसका लागि सुरक्षाको पनि महत्वपूर्ण भूमिका रहेको बताए । त्यसैगरी, राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउन कुटनीतिक सम्बन्धलाई बुद्धिमतापूर्वक प्रयोग गर्नुपर्ने समेत उनले बताए । महतले नेपाली सेनाले विश्व शान्ति स्थापनाको लागि खेलेको भूमिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाट प्रशंसा गरे । 

तीन चरणमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा सहभागीहरुले नेपालको सन्दर्भमा कुटनीतिक अभ्यास तथा चुनौतीको विषयमा छलफल गरेका थिए । दोस्रो चरणमा नेपालको सन्दर्भमा सैनिक कुटनीतिको बारेमा छलफल भयो । तेस्रो चरणमा राष्ट्रिय सुरक्षामा रक्षा तथा कुटनीतिक भूमिकाको बारेमा छलफल केन्द्रित रह्यो । सो छलफल कार्यक्रममा सम्बन्धित विषय विज्ञहरु, नेपाली सेनाका अवकाश प्राप्त रथीवृन्द तथा सैन्य जानकार र विज्ञहरुको समेत उपस्थिति रहेको थियो । कान्तिपुर