25, June 25, 2017
मनोरञ्जन

कलाकार नभएको भए पत्रकार हुँन्थे

Manoj gajurel

हास्य क्षेत्रमा चर्चित मनोज गजुरेल प्रखर वक्ताका रूपमा पनि परिचित छन् । हँसाउने उनको वर्तमान पेसा हो । तर, अनेक सम्भावनाको बीचबाट मान्छेले जीवनमा एउटा पेसा तय गर्छ । गजुरेलका पनि पक्कै धेरै सम्भावना थिए । हास्य कलाकार नभएको भए के हुने सम्भावना थियो ? यही विषयमा कलाकार मनोज गजुरेलसंगको कुराकानीमा आधारित लेख आजको नयाँ पत्रिकाले छापेको छ । 

०४५ तिर काठमाडौं छिरेँ । रामशाहपथस्थित पद्मोदय स्कुलमा ९ कक्षामा भर्ना भएँ । त्यहीवेला पञ्चायती व्यवस्था ढाल्नका लागि भन्दै आन्दोलन सुरुवातको अवस्था थियो । राजनीतिक कुरामा सानैदेखि चासो लाग्थ्यो, त्यसैले आन्दोलनतिरै सक्रिय हुन रहर जाग्यो । अनि आन्दोलनतिरै सक्रिय भएँ । अनि माले ९अहिलेको एमाले०निकट भातृसंगठन अनेरास्ववियु ९पाँचौँ०को अध्यक्ष भएँ ।

पद्मोदय स्कुलबाट एसएलसी सकेपछि आरआर कलेजमा आइए पढ्न सुरु गरेँ । त्यहाँ गएर संयुक्त जनमोर्चानिकट भएँ । स्ववियु सभापति लड्न टिकट पनि दिइयो । तर, मैले चुनाव लड्दा अर्को कम्युनिस्ट संगठनले हार्ने र नेविसंघले जित्ने अवस्था भएपछि टिकट फिर्ता दिएँ । पछि कलाकारितातिर केन्द्रित भएपछि राजनीतिक पाटो पछाडि छाडियो । सायद, कलाकार नभएको भए राजनीतिज्ञ बन्ने सम्भावना पनि थियो भन्ने लाग्छ ।

आन्दोलनको मोर्चामा सधैँ अग्रपंक्तिमा हुन्थेँ । कम्तीमा एक हप्तासम्म पनि ढुंगामुढा र तोडफोड गरिएन भने के नपुगेजस्तो महसुस हुन्थ्यो । प्रहरीको कुटाइ त कति भेटियो कति , २४ चैत ०४६ को आन्दोलनमा गोली पनि खाएँ । मैतीदेवीमा आन्दोलन भइरहँदा प्रहरीले हानेको गोली मेरो दाहिने गोडामा लाग्यो । तर, बाचेँ ।

दुई वर्षपछि पुनः एमालेको भातृसंगठनमा फर्किएँ । ०५० सालमा मदन भण्डारीको हत्या भयो । हत्याविरुद्धको आन्दोलनमा सक्रिय भएँ । म र मेरो साथी केशव धिताल विरोधको कार्यक्रमस्वरूप ‘ब्ल्याक आउट’ गरेर कोठामा फर्किंदै थियौँ । ‘अघि ढुंगा हान्ने यही हो’ भन्दै अँध्यारोमा हामीमाथि आक्रमण भयो । हामी अर्धमुर्छित भएका रहेछौँ । एक्कासि अस्पतालको बेडमा देख्दा त झसंगै भएँ । त्यो स्प्रिटलाई पछिसम्म पनि कायम राखेको भए, के थाहा सहिद हुन पनि सकिन्थ्यो होला ।

०००
मैले आरआर कलेजबाट पत्रकारिता विषयमा ‘ग्य्राजुएसन’ गरेको छु । मेरो रुचि त्यही थियो र नै पढेँ । अहिले पनि पत्रिकामा स्तम्भ लेखिरहन्छु । आफ्नै वेबसाइटमा पनि लेख्छु । कलाकारितासँग पत्रकारिताको सम्बन्ध निकट पनि छ । यदि कलाकारितामा पूरा समय दिँदैनथेँ भने व्यावसायिक पत्रकार बन्ने सम्भावना पनि थियो ।

अझै छन् केही सम्भावना
कलाकारिता मेरो आधिकारिक पेसा बनिसकेको छ । तर, अझै पनि अन्य सम्भावना जीवित छन् । अबको १५–२० वर्षपछि म एउटा वैज्ञानिक खालको अध्यात्म र योगको शिक्षक हुन्छु किजस्तो लाग्छ । म ओशोको अनुयायी हुँ । सन् १९९४ देखि ओशोलाई पढ्दै आएको छु । माक्र्सवादले भौतिक आवश्यकता पूर्तिको काम गर्छ । तर, भौतिक रूपले सफल भएपछि पनि मन र मस्तिष्कको आवश्यकता बाँकी नै रहन्छ । त्यो आवश्यकताको परिपूर्ति हाम्रो पूर्वीय दर्शन र योगले गर्छ भन्ने मेरो ठम्याइ छ । त्यसैले त यसमा मेरो सम्भावना छ ।


मलाई ‘मोटिभेसनल’ क्रियाकलाप गर्न पनि मन लाग्छ । सकेसम्म समाजमा भएका राम्रा कुरालाई लिएर मान्छेमा सकारात्मक सोच विकास गराउने इच्छा छ । विभिन्न सामाजिक तथा मानसिक समस्याको राम्रो ‘काउन्सिलिङ’ गर्ने क्षमता राख्छु भन्नेमा विश्वास राख्छु । यसको अर्थ, मलाई कुनैवेला ‘मोटिभेसनल स्पिकर’ र ‘सोसियो काउन्सिलर’को रूपमा पनि देख्न सक्नुहुन्छ ।