नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

रमेश लम्साल

काठमाडौँ, ५ वैशाख । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ ।

सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला वर्षमा दैनिक आठदेखि दशघन्टा मात्रै विद्युत् पाएका उद्योगी तथा व्यवसायीले गत असोजदेखि निरन्तर रुपमा दैनिक २० घन्टा विद्युत् पाएका छन् ।

एक चरणमा मात्रै चल्ने उद्योग दुई चरणमा चल्न थालेका छन् । उत्पादन क्षमता बढेको छ भने रोजगारीको अवसरमा समेत वृद्धि भएको छ । होटल एसोसिएसन अफ नेपाल ९हान०का महासचिव विनायक शाहले नियमित विद्युत् प्राप्त भएपछि होटलको खर्चमा मासिक ४५ प्रतिशतले कमी आएको, गुणस्तरीय सेवा दिन सकिएको तथा रोजगारीको अवसरमा समेत वृद्धि भएको बताए  ।

“हामीले दिने सेवा र मूल्य तय गर्न सहज भएको छ, डिजेल खपतमा कमी आएको छ,” शाहले भन्नुभयो । नियमित विद्युत् आपूर्तिपछि काठमाडौँ, पोखरा, चितवनलगायतका होटल तथा सेवा क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनले सरकारलाई सहज रुपमा सहयोग गर्ने वातावरण बनेको उनको भनाइ छ ।

होटलमा प्रयोग भएको पुराना बल्व हटाउने, नयाँ एलइडी बल्व राख्ने, पुराना कन्डक्टर एवम् फ्यूज फेर्ने तथा अन्य प्राविधिक उपकरण फेर्नेतर्फ प्राधिकरणको सहयोगको अपेक्षा गरेको शाहले बताए ।

सिमेन्ट उत्पादक सङ्घका महासचिव ताराप्रसाद पोखरेल नियमित विद्युत् आपूर्तिले सिमेन्ट उत्पादन तथा क्लिङ्कर उत्पादनमा गत वर्षभन्दा ५० प्रतिशतले बढोत्तरी भएको बताउनुहुन्छ । सिमेन्टमा आत्मनिर्भर बनेको मुलुकलाई थप समृद्ध बनाउने र निर्यात बढाउनका लागि अझै नियमित रुपमा विद्युत् आवश्यक रहेको पोखरेलको भनाइ छ ।

रुपन्देही क्षेत्रमा दर्जनौँ सिमेन्ट उद्योग स्थापना हुने चरणमा रहेका र केही सञ्चालनमा आइसकेकाले न्यूनतम एक सय र अधिकतम दुई सय मेगावाटसम्म विद्युत् आवश्यक रहेको पोखरेल बताउछन ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय दैनिक २० घन्टा उद्योगले विद्युत् पाउनु सुखद रहेको बताउछन । ‘‘गत वर्षभन्दा उद्योगको उत्पादन क्षमतामा ४० प्रतिशतले वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रशासन पनि चुस्त देखिएको छ । जनतामा साँच्चै नौलो अनुभूति भएको छ,” उपाध्यायले भनिन्नुभयो ।

उद्योगले नियमित विद्युत् पाए पनि स्वच्छ ऊर्जा भने पाउन सकेका छैनन् । ट्रिपिङको समस्या छ । भोल्टेज पनि तल माथि हुने गर्दा मेसिन जल्ने तथा उत्पादित सामग्री गुणस्तरीय नहुने भएकाले भोल्टेजको समस्या सुधार गर्नुपर्नेमा अध्यक्ष उपाध्यायले जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय