विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन गोरखा),

, १४ वैशाख ।

गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो । प्रसिद्ध पर्वतारोही स्टेफन केक, जोसेफ इनवलर र हयान्स आर्कसहितको सक्रियतामा आर्थिक सहयोग जुटाएर पाँचकोठे भवन बनाइएको हो । विद्यालय बनाउने क्रममा हेलिकप्टरबाट सामान ढुवानीमा सहयोग गरेका अस्ट्रियाका हयान्स आर्कको दुर्घटनामा परी निधन भएपछि उनको स्मृतिमा विद्यालय बनाइएको हो । विद्यालयमा त्यस क्षेत्रका २१ छात्रासहित ३० विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठिन्ले ग्याम्जो लामाले बताउनुभयो । बुधबार आयोजित कार्यक्रममा पर्वतारोही स्टेफेन केक र फाउन्डेसनका अध्यक्ष लामाले व्यवस्थापन समितिलाई विद्यालय भवन हस्तान्तरण गर्नुभएको थियो । सदरमुकाम गोर्खाबजारबाट तीन दिनको पैदल यात्रामा पुगिने चुम उपत्यकाको रिप्चेत करिब दुई हजार ४७० मिटरको उचाइमा अवस्थित छ । भूकम्पले भत्काएका रिप्चेतका ४२ मध्ये अधिकांश घर निर्माण भए पनि खानेपानीको मुहान निर्माण तथा नियमित बिजुली बाल्नका लागि रकम अभाव भएको अध्यक्ष लामाले बताउनुभयो । गणेश, श्रृङ्गी, लङ्जुलगायतका हिमालको काखमा रहेको रिप्चेतमा भूकम्पले भत्काएका चारवटा गुम्बा अझै बनाउन नसकिएको स्थानीयवासीले बताए । हिमालय पिस एजुकेसन फाउन्डेसनले नुवाकोट, सिन्धुपाल्चोक र गोर्खामा छ विद्यालय बनाइसकेको छ । काभ्रेमा खानेपानी योजना र सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा पथप्रदर्शक बस्न मिल्ने भवन निर्माणाधीन छ । रसुवामा गुठीमा भएको जग्गाको स्वामित्व ३०५ घरपरिवारलाई दिलाउन आर्थिक सहयोग दिनाका साथै ५० बालबालिका अटाउने बालगृह बनाएको फाउन्डेसनका उपाध्यक्ष शैलेन्द्र कार्कीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय