29, July 22, 2017
ADS
राजनीति

गिरिजाप्रसाद कोइरालाका दरवार हत्याकाण्ड बेलाका ती दुई दिन

Images

 

 

 

जेठ १९, २०५८

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला शयन कक्षमा गएसँगै वालुवाटारमा रातिको ड्युटीमा खटिने सुरक्षाकर्मी र सहयोगीबाहेक अधिकांश सहयोगी घर फर्किए । २०५८ जेठ १९ गते राति १० बजेर पाँच मिनेट जाँदा प्रधानमन्त्रीका निजी सचिव गोकर्ण पौडेलको फोन बज्यो । काठमाडौं प्रहरी प्रमुख सागर थपलियाले भने, ‘राजदरवारमा गोली चल्यो । लगत्तै दरबारबाट दुईजना हतियारधारी बाहिर निस्किए । जसमा एकजना शाहज्यादा पारस हुन् भन्ने हल्ला छ ।’

पौडेलले फोन राख्न नपाउँदै राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीको फोन आयो, ‘दरबारमा सबै मरे भन्छन् । मैले सम्माननीयजी (प्रधानमन्त्री) सँग कुरा गर्न खोजेको सकिनँ । लौ न हजुरले भनिदिनुपर्‍यो ।’ पौडेलले तत्काल बालुवाटारमा फोन लगाए र रायमाझीलाई कोइरालासँग कुरा गराउनु अह्राए । त्यति नै बेला बालुवाटारका सहकर्मीले पौडेललाई, भर्खरै दरबारका सचिव पशुपतिभक्त महर्जनको फोन आएको थियो, सायद उनी आउँदै छन्ु भन्ने जानकारी गराए ।

दरबार हत्याकाण्ड भएको झन्डै एक घन्टापछि रायमाझीले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराए, ‘सम्माननीयज्यू, सरकारलाई (राजा) सैनिक अस्पताल (छाउनी) लगेको छ म जाँदैछु । तपाईं आउनुहोला ।’ कोइरालालाई लाग्यो–( राजालाई हर्ट एट्याक भएछ । ‘ल हुन्छ, म पनि अस्पताल आउँछु’ भनेर फोन राखिदिए । गाडी तयार गर्न लगाएर प्रधानमन्त्री कपडा लगाउन थाले । कोइरालाका साथी शिवध्वज बस्नेत पनि बालुवाटारमै बस्थे । तत्क्षण राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनको फोन भन्दै बस्नेतले प्रधानमन्त्रीलाई रिसिभर थमाए । फोनमा महर्जनले भने, ‘प्रधानमन्त्रीज्यू म त्यहीँ आउँदै छु ।’

केहीबेरमै बालुवाटार पुगेका महर्जन अलि नर्भसजस्ता थिए । दरबारमा राजारानीको हत्या भएको र गोली चलेको जानकारी कोइरालालाई उनैले दिए । अस्पताल जान तयार भएका कोइरालाले दरबार जाने निर्णय गरे ।

महर्जन डराएका थिए । उनैले कोइरालासँग भने–‘म पनि हजुरको मोटरमा अटाउँछु कि’ प्रधानमन्त्रीकै मोटरमा उनी दरबार गए । बालुवाटारबाट दरबार पुग्दा रातिको ११ः३० भइसकेको थियो । दरबार पूरै सुनसान थियो । खालि केही आर्मी मात्र देखिन्थे । महर्जन र सैनिक सचिव विवेककुमार शाहले प्रधानमन्त्रीलाई घटनाबारे ब्रिफ गरे ।

कोइरालाले २०६४ सालमा पंक्तिकारसँगको अन्तर्वार्तामा भनेका थिए, ‘म घटनास्थल पुग्दा त त्यहाँ रगतका टाटा केही थिएनन् । घटनास्थल पानीले पखालेर सफा पारिसकिएको थियो । के भएको रहेछ भनेर हेर्छु भनेको त केही थिएन ।’

उता प्रधानमन्त्रीका निजी सचिव पौडेल समाचारमूलक विदेशी च्यानल घुमाउँदै थिए । सीएनएन, बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दरबार हत्याकाण्डको ब्रेकिङ न्युज आइसकेका थिए । त्यसैबेला भारतीय राजदूत केभी राजन, अर्थसचिव विमल कोइराला, दर्जनौंका फोन एकपछि अर्को गर्दै आउन लागे । अनि पौडेल बालुवाटारतर्फ हानिए ।

प्रधानमन्त्री निवासको सुरक्षाका लागि हरेक दिन फरक(फरक कोड शब्द तय गरिन्छ । सुरक्षाको दृष्टिले त्यो कोर्ड बालुवाटारका सीमित कर्मचारी र सुरक्षाकर्मीबाहेक सेना र प्रहरीप्रमुखलाई समेत थाहा हुँदैन । कामका लागि अनुमति लिएर भेट्न आउने विशेष मानिसलाई सुरक्षा कोर्ड दिइएको हुन्छ । मध्यरातको आसपास प्रधानमन्त्री निवास पुगेका पौडेललाई त्यो दिनको कोर्ड थाहा थिएन । उनले तत्काल प्रधानमन्त्रीका एडीसीसँगलाई सोधेर कोर्ड थाहा पाए, ुतिमी हाम्रो हो मित्र ।ु कोड भनेर पौडेल बालुवाटारभित्र पुग्दा प्रधानमन्त्री कोइराला दरबार गइसकेका थिए ।

दरबारबाट कोइराला सिधै सैनिक अस्पताल हानिए । कोइरालाले मलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘त्यहाँ एउटा नयाँ माहोल छ । वातावरण एकदमै तनावग्रस्त । सेनाको चालामाला मैले ठीक पाइनँ ।’ कोइरालाको निधनपछि मात्र मलाई थाहा भयो त्यो दिन प्रधानमन्त्रीलाई सैनिक अस्पतालको एउटा कोठामा कसैसँग सम्पर्क गर्न नदिएर अत्यन्त अपमानजनक रूपमा राखिएको थियो । जीवनभर कोइरालाले त्यो दिन आफूमाथि भएको व्यवहार र अपमान सार्वजनिक गरेरनन् ।

अत्यन्त निकट विश्वास पात्रसँग मात्र गोप्य सूचना बाँड्ने स्वभावका कोइरालाले त्यस रातको घटनाबारे बालसखा भीम नौलखालाई भनेका थिए, ुत्यो दिन म झन्डैले बाँचें । युवराज दीपेन्द्रले त्यो दिनको पार्टीमा मलाई पनि बोलाएका थिए । मैले राजा वीरेन्द्रसँग कुरा गरें( सरकार म बूढो मान्छे । राति पार्टीमा किन आउनुपर्छ र ? युवराजधिराजबाट निम्ता बक्सेको छ ।’ राजाले पीएम तपाईं आउनुपर्दैन भनेकाले म जेठ १९ गते राति दरबारको पार्टीमा जानुपरेन र बचें । नत्र त्यही राति राजा–रानीसँगै मलाई पनि मार्ने सुनियोजित षड्यन्त्र रहेछ । राति अस्पतालमा पनि मसँग राम्रो व्यवहार गरिएन ।’

त्यसै दिन राति पुल्चोकस्थित मन्त्री क्वाटरमा रहेका मन्त्री रामकृष्ण ताम्राकारलाई एकजना आफन्तले फोन गरेर दरबारमा राजा–रानीसहित राजपरिवारका सवै सदस्य मारिएको समाचार सुनाए । ताम्राकारलाई झट्ट सुन्दा विश्वास लागेन । तत्काल बालुवाटारमा सम्पर्क गरे । प्रधानमन्त्रीलाई राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले दरबार लिएर गएको जानकारी पाउनेबित्तिकै उनी झसंग भए । राजा–रानीसहित राजपरिवारका सबै सदस्य मार्नेले प्रधानमन्त्रीलाई के बाँकी राख्लान् ? हिजो आजजस्तो सबैको पहुँचमा मोबाइल थिएन । दुई चार राउन्ड फोन गरेपछि ताम्राकारलाई थाहा भयो, ‘रानीसहित सबै घाइते सैनिक अस्पताल छन् । प्रधानमन्त्री पनि ।’ ताम्राकार ढुक्क भए । ल प्रधानमन्त्रीलाई केही भएको रहेनछ ।

जेठ २०, २०५८

बिहान ४ बजे सबै मन्त्रीलाई एक घन्टाभित्र प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा हुनू भन्ने प्रधानमन्त्री कोइरालाको खबर प्राप्त भयो । सबै हतार(हतार बालुवाटर गए पनि मन्त्रीहरूले प्रधानमन्त्रीसँग भेट्न पाएनन् । उनीहरूलाई ुमैलपोस सुरुवालमा आर्मी हस्पिटलमै जम्मा हुनू भन्ने प्रधानमन्त्रीको सन्देश सहयोगीहरूले सुनाए । अनि सबै उतै हानिए । अस्पताल परिसरमा मन्त्रीहरूका लागि ठाउँ छुट्याइएको थियो । केही मेच र टेबल राखिएको त्यो ठाउँ न कोठाजस्तो सेपरेट, न त बरन्डाजस्तो खुला । आधा घन्टा बस्दासम्म मन्त्रीहरूको खोज खबर भएन । न त उनीहरूले त्यहाँ पनि प्रधानमन्त्री भेट्न पाए ।

फेरि बालुवाटारमै भेट्ने प्रधानमन्त्रीको सन्देश लिएर उनीहरू फर्किए । बालुवाटारको छोटो भेटमा मन्त्रीहरूले जिज्ञासा राखे, ‘गिरिजाबाबु तपाईंले सबै कुरा हेर्न पाउनुभयो ?’ नकराऊ न यार । कस कसलाई हेर्ने ? म दरबार पुग्दा सबैलाई हस्पिटल पुर्‍याइसकेको रहेछ । राजा–रानी र युवराजको अनुहार मात्र हेरें । कहाँ गोली लागेको रहेछ हेर्न पाइएन । राजा–रानीको प्राण थिएन । युवराज दीपेन्द्र कोमामा छन् । बाँच्ने अवस्था छैन, कोइरालाले बताए । सबैले प्रधानमन्त्रीको अनुहार मात्र हेरे । केही बोलेनन् ।

सरकारी नियन्त्रणमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनमा लगातार शोक धुन बजिरहेको थियो । तर किन त्यो धुन बजाउनुपरेको भन्ने विषयमा सञ्चारमाध्यम मौन थिए ।

राजपरिषद् स्थायी समितिको बैठक बस्ने सूचना पाएका मन्त्रीहरू हाल निर्वाचन आयोग रहेको बहादुर भवनमा अपरान्ह जम्मा भए । अधिकांशलाई राजपरिषद्को कार्यालय कहाँ छ, त्यसको संरचना के हुन्छ भन्ने समान्य जानकारीसम्म थिएन । कति त पहिलोपटक त्यहाँ पुगेका थिए । राज उत्तराधिकारी सम्बन्धी कानुन र नियमावली थिएन । राजा, रानीको मृत्य भइसक्यो, कोमामा रहेका युवराजाधिराजलाई हत्याको आरोप छ । उनको पनि मृत्यु भइसकेको छ । अर्कोतर्फ गद्दी एकछिन पनि खाली राख्न नमिल्ने परम्परा लामो छलफलपछि हत्याराको रूपमा चित्रण गरिएका र मरिसकेका युवराज दीपेन्द्रलाई राजा बनाउने निर्णय भयो । दीपेन्द्र कोमामा रहेकाले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक बनाइयो ।

बहादुर भवनबाट प्रधानमन्त्री सिधै छाउनी पुगे । राजा, रानीको लास एउटै ठाउँमा राखिएको छ । रानीको टाउको नै उडेकाले गुडिया बनाएर जोडिएको छ । बेलुका चार बजे आसपास शवयात्रा चलाइयो । शवको ठीक पछाडि राज्य सहायक ज्ञानेन्द्र, अनि प्रधानमन्त्री कोइरालाको मोटर थियो ।

शवयात्रा स्वयम्भू नजिक पुग्दा चर्को नाराबाजी सुरु भयो । ‘हत्यारा ज्ञाने–पारसलाई फाँसी दे । गिरिजा चोर देश छोड ।’ कपाल मुण्डन गरेका मानिस असंख्य देखिन्थे । बाटोमा पाइला राख्ने ठाउँ छैन । चर्को नाराबाजी चलिरहँदा कसैले अश्लील भाषामा प्रधानमन्त्रीलाई गाली गरेको आवाज प्रधानमन्त्रीका चालक विष्णुप्रसाद लामिछानेको कानमा ठोकियो । तत्काल उनले मोटरका सबै सिसा बन्द गर्नका लागि अटोमेटिक स्विच थिचे ।

शवयात्रा सुरु भएको १० मिनेटमै बाटोको छेउमा निर्माणाधीन एउटा चारतले घर माथिबाट प्रधानमन्त्री चढेको मोटरमाथि चार पाँच किलोको ढुंगा फालियो । प्रधानमन्त्रीको ज्यानलाई केही नभए पनि गाडीको छत कच्याककुचुक्क भयो । असुरक्षा महसुस गर्दै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी पछाडि हटे । स्थिति नियन्त्रणबाहिर पुग्यो । मोटरमा कोइराला, उनका अंगरक्षक र ड्राइभर थिए । कोइराला बोलेनन् । अंगरक्षक र ड्राइभरले जीवन रक्षाका लागि भगवानको नाम पुकारे । गाडीको अघिल्लो सिटमा रहेका अंगरक्षक सुनील श्रेष्ठ कोइरालासँगै मोटरको पछिल्लो सिटमा बसे । सुरक्षाका लागि कोइरालासहित तीनैलाई हेलमेट लगाइयो । मोटरमा लगातार ढुंगा–मुडा भइरह्यो । पछाडिपट्टकिो सिसा पत्रपत्र हुँदै पुरै फुट्यो ।

अधिकांश मन्त्रीहरू ज्यान जोगाउन शवयात्रा छोडर भागे । मन्त्री चक्र बास्तोला भीडबाट खुसुक्क स्वयम्भूतर्फ रिङरोडमा पुगे र त्यहींबाट भाडाको ट्याक्सी चढेर मन्त्री निवासतर्फ लागे । शवयात्रामा अन्तिम समयसम्म प्रधानमन्त्रीसँगै रहेका वाणिज्यमन्त्री रामकृष्ण ताम्राकार सम्झन्छन्, ‘प्रधानमन्त्री चढेको मोटरका सबै सिसा फुटिसकेका थिए । उहाँको काख र सिटमा इँटा, ढुंगा, सिसाका टुक्रा मात्र देखिन्थ्यो ।’

चारैतिरबाट प्रधानमन्त्रीलाई ताकी–ताकी प्रहार हुन थालेपछि चालक लामिछानेले मोटर सुरक्षित स्थानतर्फ लैजाने प्रयास गरे । तर कुनै उपाय थिएन । सिसा नै नभएपछि अराजक र उद्दण्ड मानिसहरूले मोटर नजिकै आएर प्रधानमन्त्रीलाई लाठीले घोच्न थाले । त्यसपछि प्रधानमन्त्रीको विशेष सुरक्षा हेर्ने जिम्मेवारी पाएका सई महेन्द्र मरासिनीले पहिलो हवाई फायर गरे ।

प्रधानमन्त्रीको मोटरमा उनीसँगै अगाडिको सिटमा बसेका प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणाले मरासिनीलाई हवाई फायर मात्र गर्न भनिरहे । डीएसपी मिलन बस्नेतले पनि फायर खोले । स्थिति नियन्त्रणमा नआएपछि अंगरक्षक (क्याप्टेन) सुनील श्रेष्ठले एक हातले प्रधानमन्त्री कोइरालाको कम्मरमा समाएर जिउको सुरक्षा गरे र अर्को हातले हवाई फायर गर्न थाले । आक्रमण चरम स्थितिमा पुगेपछि चार तलामाथिबाट ढुंगा हानिरहेको एउटा युवकलाई अश्लील गाली गर्दै श्रेष्ठले ‘तँलाई उँडाइदिउँ’ भनेर रिभल्वर तेस्र्याए । ऊ घरको भित्तामा टाँसियो र केही नबोली नमस्कार गर्न थाल्यो । कोइरालाले भने, ‘गोली नचलाऊ है ।’ उनले हवाई फायर गरे ।

अंगरक्षकले आवेशमा कोइरालालाई पनि बेस्कन समाएका थिए । कोइरालाले ‘दुख्यो मलाई छोडिदेऊ केही हुँदैन’ भने । श्रेष्ठले भने, ‘एकै छिन हो ठीक हुन्छ । तपाईंको जीवन खतरामा छ, दुखे पनि एक छिन सहनुपर्‍यो ।’ कोइरालामाथि भइरहेको आक्रमणको दृश्य सीएनएनका क्यामराम्यानले खिचिरहेका थिए । सुनीलले ती क्यामराम्यानलाई दृश्य नखिच्न आग्रह गरे । तर क्यामराम्यानले मानेनन् । उनले ुम तँलाई सुट गरिदिऊँ कि भाग्छस्ु भनेपछि ऊ क्यामरा लिएर दौडियो ।

त्यो दिन २१ राउन्ड हवाई फायर भएको थियो । त्यसमा सातवटा फायर सई महेन्द्र मरासिनीले गरेका थिए । मरासिनी सम्झिन्छन्, ‘फायर खोल्दासमेत स्थिति नियन्त्रणमा आएन । सुरक्षाकर्मीहरू भन्न थाले, हैन अब त गोली पनि सकियो के गर्ने ?’   शवयात्रा विष्णुमति पुल नजिक पुगेको थियो । लासलाई पुल तराउनु हुँदैन भन्ने मान्यताका कारण शवयात्रा विष्णुमति नदीबाट अघि बढाउन थालियो । त्यही मौकामा कोइरालाको मोटर पुल माथिबाट शवयात्रालाई उछिन्दै शोभाभगवति मन्दिरतर्फ हानियो । गाडीको प्रवेशमा रोक लगाउन मोटा फलामका सिक्रीले बाटो बन्द गरीएको थियो । चालकले तीव्रगतिमा साङ्लो तोडेर मोटर अघि बढाए । अगाडिको बाटो गाडी गुड्नका लागि नभई मानिस हिँड्नका लागि मात्र थियो । त्यहाँ भर्‍याङ थिए । चालकले तीव्र गतिमा गाडी गुडाएर भर्‍याङ कटाए । गाडी उफ्रिएकाले कोइरालाको टाउको गाडीको छतमा ठोक्कियो ।

विष्णुमतिको किनारै–किनार प्रधानमन्त्रीको मोटर चक्रपथतर्फ )सोह्रखुट्टे भ्याली कोल्ड स्टोरतिर) मोडियो । महाराजगन्ज हुँदै क्षत विक्षत अवस्थामा प्रधानमन्त्रीको मोटर बालुवाटार पुग्यो । त्यति बेलासम्म कोइरालाको कोटको खल्तीमा झन्डै आधा किलो जति सिसाका टुक्रा जम्मा भइसकेका थिए । उनको हात काटिएर रगत बगिरहेको थियो । कोइरालाले पछि मसँगको अन्तर्वार्तामा भने, ‘कपडा फेरेर फेरि राजारानीको अन्तिम संस्कार कार्यक्रममा भाग लिन आर्यघाट जान्छु भनें । आक्रमणबाट मेरो बुलेट प्रुफ गाडी त्यसरी ध्वस्त भइसकेको छ भन्ने मलाई त थाहै थिएन । सबै सिसा चकनाचुर भएको रहेछ । छत कच्याक कुचुक्क भएको रहेछ । त्यो देखेर कसरी म सकुशल आउन सफल भएँ भन्ने लाग्यो ?’

केही समय बालुवाटारमा आराम गरेपछि राजारानीको अन्तिम संस्कारका लागि प्रधानमन्त्री आर्यघाट जानुपर्ने त थियो नै । मन्त्रीहरूलाई उनले भने, ‘म पनि घाटमा जान्छु तिमीहरू पनि आउनू ।’  सहयोगीहरूले प्रहरीको मोटरमा चढेर जान सल्लाह दिए तर कोइरालाले आफ्नै मोटरमा चढेर जान्छु भने जिद्दी गर्न थाले । कच्याककुचुक्क भएको मोटर चढेर जाँदा सबैले चिन्ने र पुनः आक्रमण हुने डर थियो । सुरक्षकर्मीले त्यसै कारण प्रहरीको मोटरमा जान सल्लाह दिएका थिए ।

अपरान्ह बल्ल– बल्ल बचेर आएका सुरक्षाकर्मी )स्कटिङ गर्ने) समेत प्रधानमन्त्रीज्यू सुरक्षाको अवस्था त्यस्तो छ कसरी जाने ? भन्न थाले । चालक स्टेरिङ समाउन हिच्किचाए । कोइरालाले मुख फोरेरै भने, ‘ठीक छ तिमीहरू जाने भए हिँड, नत्र म आफैं मोटर चलाएर जान्छु ।’ कोइराला ड्राइभर सिटमा बसेपछि त चालकले स्टेरिङ समाउनै पर्‍यो । सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ चढ्ने मोटर चढेर कोइराला आर्यघाट गए । उनी त्यहाँ पुग्दा राजारानीको शवमा दागबत्ती दिने बेला, राति भइसकेको थियो । कोइरालालाई देख्नेबित्तिकै भिडबाट नाराबाजी सुरु भयो, ‘गिरिजा चोर देश छोड स्वर्गवासी राजाको चिरायुको कामना कसैले गरेन ।’

कोइरालाले त्यो घटनाबारे मसँगको अन्तर्वार्तामा भनेका थिए, ‘जीवनमा मैले धेरैपटक आक्रमणको सामना गर्नुपरेको छ तर यसप्रकारको खतरनाक आक्रमण भने कहिल्यै बेहोर्नुपरेन । त्यो आक्रमण स्वतस्फूर्त भएको होइन । सुनियोजित रूपमा गराइएको हो । त्यो मलाई मार्ने नै योजना थियो ।’

२०७१ चैत्र ७ गते कान्तिपुर दैनिकमा प्रकाशीत

 


 

ADS