38, September 19, 2017
ADS
साहित्य/विविध

अन्तरसम्बन्धले पलेँटी कस्दैन अचेल

18767736 10207783645624078 8998795023781861124 n

Bashant Prakash Upadhaya धेरै विम्ब छन् – पृथ्वीका । मलाई तीमध्ये सबैभन्दा बढी मान्छेहरुले पृथ्वीलाई ‘माता’ स्वरुपमा टिप्पणी–व्याख्या गरेको मनपर्छ । केही समयअघि तिनै माताले कम्पले के देखाएकी थिइन्– मान्छेहरुले बनाउन थाले भूकम्प प्रतिरोधी घरहरु ।

घर त भूकम्प प्रतिरोधी बनाउन थालियो, दुर्भाग्य घरभित्र चाहिँ बाँचिरहेकै छ अन्तरद्वन्द्व, झैझगडा र विरोधी स्वरहरु । जसले गर्दा समाज–संस्कृतिमा पहिलेजस्तो सद्भाव, स्नेह र सहकार्य देखिंदैन । जहींतहीं छन् विमति र विग्रहका ‘भाँडा–बजाइ’ मात्रै । परिवर्तित परिवेशमा मान्छेहरु वास्तुवादी कोठा र चोटाको परिकल्पना गर्छन्, तर घरायशी वातावरणमा पटक्कै देखिदैन वस्तुवादी सम्बन्ध र निष्कर्ष । झुलामा झुल्छन् र वातानुकूलित सयन कक्षमा तथाकथित ‘सुकला’को संवेग सुनिन्छ देखिन्छ । दुर्भाग्य सपाट सम्बन्धको गर्भधारण यत्रतत्र तुहिएको मात्रै सुनिन्छ ।

शहरमा मात्र होइन, ग्रामीण परिवेशमा पनि कोठा थुनेर बस्ने प्रवृत्ति छ अचेल । पिंढी र आँगनको भलाकुुसारी देखिंदैन कहीं । बुहारी हुने छोेराले होइन, मस्त–मग्न छोरीहरु समेत ढोका थुनेर बस्छन् । बूढो हजुरबाको दमको घ्यार्रघ्यार्रमा नातिनातिनाको स्नेह दृष्टिकोण प्रष्टिदैन । उस्तै परे भन्न बेर लगाउने छैनन् छोराहरुले नै यसरी– ‘ए, बाउ ! भात खान आऊ...।’

विश्रृङ्खलित छ पारिवारिक वातावरण । बाबु फाल्ने डोको–पद्धतिको नीति कथा सुन्ने सुनाइने गरिदैन कतै । लसुन प्याज स्वीकारेर बाजे पुस्ता अत्याधुनिक बनेको थियो । अचेल त बाबु– पुस्ता फ्रिजमा वियर राखेर चियर्स गर्छ ! छोरा–छोरी पुस्ताको ‘वाइन मात’ विर्सेर अभिभावकहरुले यसो भन्ने दिन आए– ‘....जे जे खाने हो खाउ तर ड्रग्स नखाऊ...।’

समय क्रमसँगै हाम्रो पारिवारिक परिवेश बदलिँदै जाँदो छ । नसनाताका अन्तरसम्बन्धमा भाउजु–बुहारीले साउनदेखि नै ‘दर’ खुवाउँछन् पार्टी प्यालेसहरुमा अचेल । चुरा–पोते र धागोको लरिया दिइन्छ – लिइन्छ । ‘चियर्स’को उच्चारणमा मांस –मदिराबीच सिसाका गिलास ठोकिन्छ पनि । तर स्नेह–सदाचार पटक्कै दृष्टिगोचर हुँदैन । नन्द–आमाजुका बीच ‘सेल्फी’को अन्तरसम्बन्ध बोक्दैन र कृतिमताले सबैलाई ‘खिसिक्क’ बनाउँछ ।’

यस्तै हो परिवर्तनले मिनीमाइक्रो स्कर्टसँगै टिमिक्क पाइन्ट पचाइसकेको छ, तर लज्जावोधको चिन्तनहीनतामा कही कसैले ‘हाजमोला’ले संस्कृति बचाइरहेको सुनिदैन । बरु उल्टो ट्वाक्क जिब्रो फट्कारेर इज्जत आमोद प्रमोद निर्लज्ज पचाइरहेको पाइन्छ ।

कति छन् कति विरोधाभास र वेतुके प्रसंगका कसार–वटाइहरु । मामा विना माञ्जाको ब्रतबन्ध परिकल्पना नगर्ने परिवारिक–सेतूको ढाड अचेल गायत्री मन्त्रको रिङगिङ टोनले भाँचिरहेकै देखिन्छ । पप्लु–टिप्लु फम्र्याटमा साला–भेनाको रंस –रमाइलो हराएर ‘म्यारिज’ खोजिन थालेपछि जहीँतहीँ उही सम्बन्धको ‘अल्टर–आरोप’मात्रै देखिन्छ । सम्बन्ध एकताका खेलिने पासोको स्वरुपमा आलिंगन हुन्थ्यो । बद्लिँदै जाँदा समयले सबैलाई एकअर्काको असैह्य नियतीको गलपासो भिराइरहेको छ । मान्यजन आउँदा राडी ओछ्याइएको विगत बर्तमानमा शोफामा लमतन्न त हुन्छ तर, एक आपसमा अन्तरसम्बन्धले पलेटी कस्दै कस्दैन ।

भनिन्छ परिवर्तन पुरातन विरुद्धको नूतन खोज हो । नूतन संस्कृतिले धेरै उपलब्धि दिएको पनि छ । अस्ति भर्खरै मार्च ८ को प्रसंग हो । मेरी आठ वर्षीया छोरीलाई पनि पत्तो भयो –‘वमन्स डे’ । अत्यन्तै खुशी लाग्यो– मेरी नावालक छोरीले ‘महिला दिवस’को मर्म बुझेकोमा । यद्यपि मेरी आमाले त्यो दिवसको महत्व नबुझेरै वित्नु भयो । आमाले छोराछोरीमा विभेद गरेको मैले कहिल्यै देखिँन । बल्ल थाहा पाएँ–विभेद त छोराछोरीले आफू बढेपछि गर्दारहेछन् । झसंग भएर एकछिन् सोचेँ– पुरुषप्रधान मनोवृत्ति जुँगा पलाएसँगै हुर्कदोरहेछ ।

विदा थियो ‘वोमन्स डे’को । र, छोरी पढिरहेकी थिइन् ‘रानी राज्यलक्ष्मीको इतिहास । पेचिलो जिज्ञासा तेर्साइन् छोरीले– ‘अहिलेको ‘प्रेसिडण्ट’ जस्तो हो र ! क्वीन राज्यलक्ष्मी ?’ बढो संकटमा परेँ म । नेपाली महिला मुक्ति र मर्मका परिदृश्य आँखामा घुमिरह्यो... । साधना, साहनाहुँदै शैलजामा पुग्दा गर्विलो बनेँ म । मंगलादेवीका अनेकन कथ्य विम्वमा मैले मेरी हजुरआमाहरु सम्झेँ । अनि सभामुखसँगै प्रधानन्यायाधीश र राष्ट्रपतिको अनुहार सम्झेँ । तर जवाफ दिनु थियो छोरीलाई । एउटा साहसिक रानी र प्रतिवद्ध महिलाबीच आलंकारिक राष्ट्रपतिको कसरी तुलना गर्ने धर्मसंकटमा परेँ म । र, भने–‘पोष्ट चाहि उस्तै उस्तै हो छोरी ।’

मलाई राम्ररी थाहा छ– पदसँगै थोरै प्रतिष्ठा त हुन्छ । तर केही गर्न ‘आँट’ चाहिन्छ । आँटले नै जन्मिएकी हुन्– पासाङ ल्हामु । आफ्नै अभ्यर्थनाले बनेकी हुन्– उषा नेपाल । एउटा विद्रोही चेतले स्थापित भएकी हुन्– भुवन चन्द । कति छन् कति यस्ता अहम् नारीरत्नहरु । तर दुर्भाग्य यही भीडमा समावेशिताको निहुँमा कैयौं नेताका श्रीमतीहरु माननीय भएका छन् । केही महिला कोटामा सुटकेश–साटेर राजदूत बनेका छन् । कसैले त्यही मान्यतामा आफ्ना श्रीमतीलाई सर्जक र स्रष्टामा स्थापित गराएका छन् ।

महिला आकासले खोजेको ‘न्याय’ यस्तो होइन । आफै आँखामा पट्टि बाँधेर सन्तुलित तराजु बोकिरहेकीछिन् न्यायमूर्तिले । सन्तान जन्माउँदा एउटै ‘प्रसव’ भोग्छिन् उनी । विग्रियो र विगा¥यो कसले ? हो, हामी हौं यसका कारक तत्व । जसले कहिल्यै समर्पणको ‘सती–साथ’ दिएन । र, अहिले पनि ‘विधुर–सत्य’ बिर्सेर सन्तुलित आयाम र अनुशासन भंग गरिरहेका छौं ।

ADS