थेत्तरो प्रायोजनमा – जे आउँछ, मज्जाले पचाइरहेका छौं

 

https://www.facebook.com Bashant Prakash Upadhaya‘पितासँग असहमति राख्नेले घर छाड्नुपर्छ । ‘नेता’सँग विमति हुनेले यही पार्टीमा बस्न मिल्दैन । अनि ‘देउता’सँग चित्त नबुझे धर्म त्याग्नुपर्छ ।’ कांग्रेसका नेता मीन विश्वकर्माले भन्नुभयो । हामी एउटा यात्रामा थियौं । गाडीले वाग्मतीको पुल पार ग¥यो, घ्याच्च रोक्नुपर्ने बाध्यता आइलाग्यो । 
‘हो, सम्बन्ध र समर्थनमा समर्पण नभए धेरै खालका समस्या देखिन्छन् ।’ शालिक भन्दैथिए । ट्राफिकले अघि बढ्न संकेत दिए, हामी अगाडि बढ्यौं । 
ठ्याक्कै यस्तै हो – जीवनपद्धति । कहिले थोरै रोकिंदै, कहीं अलि बढी रफ्तार देखाउँदै । कतै घुम्ती, कतै उकालो । चित्त बुझाए – चल्छ समाज, संस्कृति र राजनीति । अनुशासन बोके – दुर्घटना हुँदैन । त्यसैले यत्र–तत्र लेखिएको पढ्न पाइन्छ – 

पहिलो चरणदेखि दोस्रो चरणसम्म चुनावी मैदानमा धेरै खालका पात्र–प्रवृत्ति देखिए । जित्ने ठाउँमा हराउने ‘अन्तरघाती’ रोग त छँदै थिए – पार्टीमा । आफू र आफ्नालाई हराएर अर्कालाई जिताउने ‘धुन्धुकारी’ प्रवृत्ति झन् मौलायो । असहमति र विमति देखिए– त्यसलाई मिलाउन सहकार्यको ‘वैठक’ गरिएन । बरु बन्द कोठामा धेरै किसिमका ‘गन्ध’ ‘दुर्गन्ध’ क्रियाकलाप भए ।

चुनाव अगाडि टिकट लिने क्रममा एक मेयरका उमेदवारले भनेका थिए – ‘मलाई टिकट दिनुस् । मैले हारें भने तपाईहरुले मेरो मुखमा थुकिदिनु होला ।’ ती उमेदवारले अहिले हारेका छन् । उनले हार्नु हारिसके । अस्तिको एक भेटमा एक साथीले टिप्पणी गरे – ‘अब हारेको मान्छेको मुखमा थुक्नुको के काम छ ?’ 
हो, यस्तै गोलमटोल र अप्रभावी सर्तमा धेरै चीज भए । स्पष्टवादिता र एकलव्य पाराले गन्तव्य तय नगरिदिंदा चोक–दोबाटोमा थुप्रने सवारी साधनहरुको शैलीमा ‘राजनीति’ रोकिएको छ । किंमकर्तव्यविमूढतामा वा सबैलाई खुशी बनाउने शैली बोकिंदा झन् दुरुह बनेको छ आमअपेक्षा । ठिकै थियो जहींतहींबाट बाटो काट्न नदिने निर्णय । तर जेब्रा क्रसिङको व्यवस्थापन गरिनुको सट्टा चर्चित हुने लालसामा जरिवाना हटाइँदा बढिरहेछन् – दुर्घटना ।

सुनिएको छ अहिले – सत्ता विनिर्माणमा सबै अटाउने ‘डिब्बा’ बनाएर ‘रेल’ चलाउने कुरा । सप्तरी बाढी कहरमा डुबेको यो बेला राहत–निरीक्षण अपरिहार्य सर्त हो । त्यही मर्मबोध गरेर प्रधानमन्त्री पुगे सप्तरी । अब उस्तै परे विरोधी–स्वरमा हेलिकप्टर चढिएको कुरा गरिएला । समस्याहरु अनेक छन् । त्यो पूरा गर्ने कि कोटा विभाजनका बाजेहरु कोट–कोटको गोजीबाट निस्कने नामहरु खोजेर बस्ने ? शून्य छ – सिंहदरबार । सुनसान छन् – विकास निर्माण । सत्ता कुर्सी भरिएपछि आफै चलायमान हुन्छ – ‘शासन–प्रशासन’का पाटपूर्जा । निर्धारित समयमा हिंडेपछि मात्रै अपेक्षित समयमा ठाउँमा पुगिन्छ । जानु छ – तनहुँ भने रसुवा–धुञ्चेका बाटा समाएर काम छैन ।

अचेल पार्टीहरुमा दुई सर्त हावी छ । पार्टीहरुमा कि प्रमुख चल्छन् । कि नभए गुट–उपप्रमुख खोजी हुन्छ । ‘गुट’ खुशी बनाउन खोज्दा धेरै पार्टीहरुमा सन्तुलन बिग्रेको छ । हुने कुरै होइन – हार्नेले भागको जीत खोज्ने प्रसंग । चलनै छ संसारका सबै खेलको – जित्नेले ‘गोल्ड मेडल’ भिर्छ, हार्नेले ‘रजत–कास्य’मा चित्त बुझाउनुपर्छ । दुर्भाग्य, यहाँ त हार्ने ‘गुरु’हरुलाई सुनको औंठी होइन, हीराको हार चाहिएको छ ।

नभनूँ भन्दाभन्दै भन्नुप¥यो – कतै अचेल हामीले पढ्ने गरेको ‘विद्या’मा नै त त्रुटि छैन ! ‘विद्या’ ठीक भएको भए, पक्कै हामीले पिता, नेता र देउतालाई खुइल्याउँदै आफ्नो अंश, कर्म र धर्मलाई सत्तोसराप गर्दैनथ्यौं होला । ‘विद्या’ ठीक भएको भए हामी नागरिकका हात–खुट्टा भाँचेर ‘नेता’ बनिने प्रवृत्तिको सूत्रपात गर्दैनथ्यौं होला । न त हामी विरामीको उपचारमा रोग झन् बल्झाउने खालका प्रविधिलाई नै अँगाल्थ्यौं होला । धन्न हाम्रो परिवेश, ‘हाजमोला’को जस्तै थेत्तरो प्रायोजनमा चलिरहेछ ! र, हामीले ‘जे आउँछ, मज्जाले पचाइरहेका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय