39, September 25, 2017
ADS
समाचार

सडक नबन्दा भक्तजनलाई सास्ती

Images %284%29

 

 

काठमाडौँ, २६ असार ।

साउन महिना आउन एक साता मात्र बाँकी रहँदा पनि पशुपतिनाथ मन्दिर वरपरको सडक निर्माण नसकिँदा भक्तजनले सास्ती खेप्नुपर्ने भएको छ । 

गौशालाचोकदेखि चावहिल मूल सडक मेलम्चीको पानी वितरणका लागि खनिएका कारण हिलाम्य छ । जयबागेश्वरीदेखि आर्यघाटसम्म ढल बिच्छ्याउने काम भइरहेकाले आवागमनमा अप्ठ्यारो छ । मित्रपार्क ओरालोबाट पशुपति निस्कने बाटो डिभिजन सडक कार्यालय काठमाडौँ १ मीनभवनले निर्माण गरिरहेकाले हाल एकतर्फी बनाइएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण सम्पदा पुनःनिर्माण हुन नसक्दा दर्शनका लागि भेला हुने भक्तजनको सुरक्षा कसरी हुनसक्छ भन्ने चिन्ता रहेको स्थानीयवासी श्यामसुन्दर जोशीले बताउनुभयो । 

पशुपति क्षेत्र विकास कोषका निर्देशक एवम् पशुपति मन्दिर तथा गुठी व्यवस्थापन महाशाखा प्रमुख भोला सिटौला पशुपति क्षेत्र वरपरका सडक साउन १ गते अगावै निर्माण सक्न सम्बन्धित निकायसँग अनुरोध गरिएको बताउनुहुन्छ । “साउनमा पशुपतिमा लाग्ने भक्तजनको भीडलाई ध्यान दिएर तयारी सुरु गरेका छौँ, साउनका लागि पशुपति क्षेत्रमा थप सुरक्षाकर्मी माग गरिएको छ, स्थानीय संस्थाका तर्फबाट स्वयंसेवक पनि परिचालन गरिन्छ” – उहाँले भन्नुभयो । 

मित्रपार्क ओरालाको सडक निर्माणको कार्यक्रम यस वर्ष नभए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव टंकमणि शर्माले वैशाख पहिलो साता अनुगमन गरी सडक विभागलाई बनाउन निर्देशन दिनुभएको थियो । सडक ढलान गरिएकाले साउन ८ गतेसम्म यातायात चलाउन नसकिने सडक डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो । यसका कारण पशुपति दर्शन गर्न आउने भक्तजन मात्र नभई यो सडक भएर यात्रा गर्ने यात्रुले समेत दुःख पाउने भएका छन् । एघार महिनासम्म चुप लागेर बस्ने तर आर्थिक वर्षको अन्त्यमा काम गर्ने परम्पराले साउनमा यो सडक जाम हुने निश्चित भएको स्थानीयवासी पार्वती कार्कीको गुनासो छ । 

चन्द्रमासअनुसार आजैदेखि साउन लागेकाले भारतीय भक्तजनको वृद्धि भएको कोषले जनाएको छ । नेपाली भक्तजनले भने सौरमासअनुसार साउनमा पशुपतिमा विशेष पूजा र दर्शन गर्छन् । यस अवसरमा सुन्दरीजलदेखि शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरिने बोलबम यात्रा पनि आजैदेखि सुरु भएको छ । साउनमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिमा चढाएमा मनोकाँक्षा पूरा हुने धार्मिक विश्वास छ । 

ADS