29, July 22, 2017
ADS
समाचार

मङ्गला गाउँपालिकाले डोजर किन्ने

Download

 

बाबियाचौर (म्याग्दी), ३० असार । म्याग्दीको मङ्गला गाउँपालिकाको बिहीबार भएको प्रथम गाउँसभाले डोजर किन्न बजेट विनियोजन गरेको छ । 

गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गर्न रु एक करोड एक लाख ५० हजार बजेट विनियोजन गरेको हो । सडक निर्माण, स्तरवृद्धि र पूर्वाधार निर्माणका कामलाई मितव्ययी तथा व्यवस्थित बनाउन आफ्नै डोजर खरिद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले आगामी आर्थिक वर्ष २०७४७५ का लागि रु २८ करोड ९१ लाख बजेट विनियोजन भएको जानकारी गराउनुभयो । आम्दानीतर्फ वित्तीय समानीकरण अनुदान रु १३ करोड ६ लाख १८ हजार, सशर्त अनुदान रु नौ करोड ११ लाख ६५ हजार र आन्तरिक आम्दानी रु १५ लाख ५० हजार रहेको छ । 

गाउँपालिकामा रहेका खनिज सम्पदाको अन्वेषण, मङ्गला चक्रीय पर्यापर्यटन मार्ग, लघुव्यवसायको सम्भाव्यता अध्ययनका साथै एकीकृत सामाजिक परिवर्तनका लागि प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिको प्रयोग र प्रत्येक टोलमा स्वास्थ्य परीक्षण केन्द्र स्थापना गरेर महिनाको एकपटक गाउँमै सेवा दिने र आयआर्जनका लागि टिम्मुर, चिराइतो र सतुवाको व्यावसायिक खेती विस्तार गर्ने योजना रहेको छ । 

धौलागिरि गाउँपालिकाको बजेट रु २७ करोड 

यसैगरी, मुनामा भएको धौलागिरि गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल रु २६ करोड ९३ लाख २७ हजार बजेट विनियोजन भएको सार्वजनिक गर्नुभएको थियो । 

सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण लगायतका योजनालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । नीति तथा कार्यक्रममा गाउँपालिकाको सातवटा वडाको सम्भावनाका आधारमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

धौलागिरि र मङ्गला गाउँपालिकाले भौतिक पूर्वाधारका योजनामा उपभोक्ताले कुल लागतको दश प्रतिशत रकम बराबरको श्रमदान अनिवार्य गर्नुपर्ने नीतिगत व्यवस्था गरेका छन् ।

ADS