38, September 19, 2017
ADS
समाचार

धार्मिक तीर्थस्थल देवघाटमा साउने मेला

Download %281%29

 

रत्ननगर (चितवन), १ साउन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । 

आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ । 

मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् । 

अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिनुभयो । सोही मेलाका लागि आजैदेखि तयारी थालिएको उहाँको भनाइ छ । 

आज साउने संक्रान्ति मेला शुरु भएको र यहाँ भोलिदेखि बोलबम मेला लाग्ने पौडेलले जानकारी दिनुभयो । 

संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन् । आज समाजसेवी तथा पूर्व सांसद मैयाँदेवी श्रेष्ठले विश्वशान्तिका लागि स्वस्ति शान्तिको समेत आयोजना गर्नुभएको छ । 

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने आजको दिनमा घरघरमा लुतो फाल्ने चलनसमेत छ । 

देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको तयारी गरेको छ । 

नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ । बाटो, खानेपानी, विद्युत्लगायतको पनि व्यवस्थापन भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो । 

चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । 

यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्छन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्छन् । व्रत बसेर स्नान गरी देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास सर्वसाधारणको छ । 

ADS