कांग्रेसले आफ्नो राष्ट्रिय चरित्रमा तत्काल सच्याउनुपर्ने प्रवृत्ति डा. नवराज लम्साल

 

डा. नवराज लम्साल , पत्रकार भाइ शिव लम्सालको आग्रहमा उनकै शब्दमा ‘कांग्रसका गम्भीर कमजोरीहरू’लाई दश बुँदामा टिप्पणी गरेको छु । मलाई दिइएको विषय नै कमजोरी थियो र मेरो बुझाइमा कांग्रेसका यी दश कमजोरी छन् र तत्काल सच्याउनु-सच्चिनु जरुरी छ ।
ड्ड पार्टीमा आस्थाले बाँधिने कार्यकर्ताभन्दा खेताला प्रवृत्तिका झुण्ड हावी छन् । पैसा बिना सिन्को नभाँच्ने र नेता भेट्नु भनेकै पैसा माग्नु हो भन्ने सोच धेरैमा बढ्दै गएको छ र नेताहरूमा पनि कार्यकर्तालाई विचार, कार्यक्रम, सच्चरित्र, आदर्श र दर्शन दिएर होइन, पैसा दिएर आफ्नो बनाउने चलन बढ्दो छ ।
♦ पार्टी निकट बौद्धिक र लोकतान्त्रिक चरित्रका व्यावसायिक व्यक्तित्वहरू पार्टीबाट टाढिएका छन् । बेरोजगार बाह्रमासे गफाडी मात्रै पार्टीको मूलधार ठान्ने प्रवृत्ति हावी छ र यसले पार्टीप्रतिको आकर्षण घटाएको छ । चेतना र उद्देश्यहीन तथा अध्ययन र विश्लेषण बिनाका कोरा कार्यकर्ताले मात्र कांग्रेसको आकाश थाम्न अब सायद् कठिन हुनेछ ।
♦ उच्च नेतृत्वको बीच सहमति, सहकार्य र एकता छैन । सामान्य राजनीतिक असहमतिको सीमालाई विभाजनको धार मान्ने गलत सोचको जग फेदैसम्म छ । बेमेलमा मेल होइन, चिरा र चर खोजिरहेछझैँ लाग्छ । नेताले जस्तो संस्कार दिन्छन्, कार्यकर्ताले त्यही सिक्ने हो । वडास्तरको कार्यकर्तासँग बसेर ५० वर्षदेखि दुख गर्दै आएको एउटा सहकर्मीको खोइरो खन्दा त्यसले के सिक्छ ? कसैले नचाहिने कुरा गर्न आए गाली गरेर पठाउनुपर्नेमा उल्टै चोचोमोचो जोडेपछि के जान्छ गाउँगाउँमा सन्देश र कस्तो बस्छ संस्कार रु पार्टीमा सम्मानको संस्कार क्षय भएको छ ।
♦ पार्टीभित्र पनि र राज्यसत्तामा पनि सबै खाले उच्चपद खरिदबिक्रीका लागि राखिएजस्तो देखिएको छ । आम चर्चामा आएझैँ त्यो कुरा होइन भन्ने गरी कोही कसैले कतै बोलेको सुनिन्न । तैँ चूप मै चूप । यदि कुरा त्यसो होइन भने प्रस्ट पार्नुपर्छ । सही हो भने त्यो अत्यन्त घातक कुरा हो । आफँै बिक्री हुन पार्टीमा कोही लाग्दैन । किन्नेहरू पार्टीप्रति कहिल्यै बफादार बन्दैनन् । अन्यत्र सस्तोमा पाएका दिन पार्टीलाई लात हान्छन् र अन्तै जान्छन् ।
♦ नयाँ पुस्ताको नयाँ सोचलाई सम्बोधन गर्ने गरी न विचारको विश्लेषण छ, न त नीति, योजना र कार्यक्रम छ, न त युवाहरूलाई आकर्षित गर्ने गरी रणनैतिक योजना छ । हजुरबाले बनाइदिएको कांग्रेसले कति दिन खान्छन् नेताहरू । कांग्रेस नर्सरी सुख्खा छ । आज कुनै नयाँ विद्यार्थी म नेवि संघ बन्छु भनेर आएको मैलेचाहिँ देखेको छैन ।
♦ विचारमा विभिन्नता हुनु स्वाभाविक हो । सोच, शैली र चेतना मान्छेपिच्छे फरक हुन्छ-हुनसक्छ तर नेतृत्व तहकाहरूलाई पार्टीको मूलनीतिमा असर पर्ने गरी सार्वजनिक अभिव्यक्ति दिनुहुन्न भन्नेसम्म हेक्का छैन । कांग्रेस पार्टी हो कि मोर्चा रु छुट्याउन गाह्रो छ । कम्तीमा केन्द्रीय समितिको स्वर त एउटै होस् । एउटा मुद्दामा एउटै आधिकारिक धारणा आओस् । आज महामन्त्री र सभापति नै फरकफरक पार्टीका नेता जस्तो लाग्छ । अरूहरूको त के कुरा १
♦ पार्टीका भ्रातृ संस्था र शुभेच्छु संस्थाहरू ससाना एन।जि।ओ।जस्ता छन् । दुईचार जनाले बेतलबी जागिर पाएजस्तो देखिन्छन् ती संस्था । फरकफरक संस्था हुनुको पहिचान के के हो रु नेताका पछाडि म फलानो संस्थाको फलानो भन्नुभन्दा बाहेक कहाँ देखिन्छ तिनको असली पहिचान रु आफैँ र आफ्नै वैचारिक चेतनालाई चलाउन नसक्नेहरूले कसरी चलाउलान् देश रु नेता भन्ने कतिपयको विचार, बोली र अनुहार हेर्दा त असली कांग्रेसलाई पनि रूखमा भोट दिने बेला नरमाइलो लाग्दो हो  !
♦ गाउँगाउँ जाने र गाउँसँग मिसिने संस्कार हराउँदै गएको छ । गाउँ जाने भनेको जिल्लाको प्रमुख सहर जाने र दारु खाने यात्रा जस्तो देखिएको छ । कांग्रेस निकट कतिपय संघसंस्थाका नेता जिल्ला गए भने जिल्लाकाहरूले मोवाइल अफ गरेर लुक्नुपर्ने अवस्था छ । उनीहरू विचार, संगठन निर्माणको पूँजी र नैतिक बल लिएर होइन, भोको भुँडी लिएर त्यहाँ जान्छन् जहाँ जिल्लाले भरिदिनुपर्छ इच्छाभोजन राम्रो होटलमा राखेर ।
♦ राज्यसत्ता कता गइरहेछ रु के गरिरहेछन् निजामति, प्रहरी र आर्मी रु केही हेक्का छैन । अवसर आए आफन्त, जिल्ला र चुनाव क्षेत्रमात्र हेर्छन् नेताहरू । सबभन्दा बढी आफन्तको रोगले ग्रस्त छन् । बरु विपक्षीका अगाडि उदार देखिन्छन् तर अन्य जिल्लाका कार्यकर्ता र संघर्षबाट आएकाहरूलाई हेर्दैनन् । अर्काको बाच्छो चाट्यो मुखभरि रउँ भन्ने तिनलाई थाहा छैन । पावरमा हुँदा तिनले जसलाई चेप्छन्, पावरबाट खुस्केका दिन तिनैले छुरा रोप्छन् भन्ने पनि सोच्दैनन् । आफ्नै कार्यकर्ताको मुख मेसेर अर्कालाई खुवाएको फल कस्तो हुन्छ रु यो प्रवृत्ति पार्टीका लागि घातक छ र धेरैको मनोबल गिरेको छ ।
♦ पार्टीमा खोला त-यो लौरो बिस्र्यो जस्तो भएको छ । आवश्यक पर्दा कसले कहाँ के ग-यो भन्ने हेक्का छैन । आवश्यक पर्दा अर्कैको पैसा खाएर घात गर्नेहरू विहानबिहानै दैलामा भेटी चढाउन आउनेबित्तिकै मैनझैँ पग्लने रोग छ । अठोट, प्रतिबद्धता र संरक्षण हो राजनीति । भैँसीझैँ खरिद विक्री गरिएका झुण्डको आडमा माथि उक्लन खोज्दा नेताहरू आफू त सकिन्छन् सकिन्छन्, सिङ्गो पार्टीलाई पनि आर्यघाट पु-याउने संभावना हुन्छ । कार्यकर्ताको क्षमता र चरित्र नचिन्नेले देश कसरी चिन्ला र देशै नचिने कसरी नेता होला देशको ?
आज राजनैतिक संवेदना मर्दैमर्दै गएको छ । संवेदनाहीन, सहकार्यहीन र आत्मसम्मानहीन हुँदै गएपछि राजनीतिको मूल्य मर्दै जान्छ । मूल्य मरेको राजनीतिमा लागेर काम गर्नु र पार्टीको होइन, व्यक्तिविशेषको भरिया बन्नुभन्दा चूपचाप एक्लै बस्नु राम्रो हो भन्ने उदासी बढ्दै जानेछ । एउटा आकर्षक व्यक्ति निस्कृय बसेको दिन पार्टीले धेरै कुरा गुमाइसकेको हुनेछ । त्यो क्रम बढ्दो छ । परिणाममा आउने समय त अझै केही बाँकी छ तर नेतृत्वले सोच्न भने निकै ढिलो भइसक्यो । बाँकी नेतृत्वकै मर्जी   !

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गोर्खाली जनता विकासको पक्षमा छन्, चुनाव जित्छौं : राजेन्द्र बजगाई

                   नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा ...