कञ्चनपुरमा धमाधम खेलकुद संरचना बन्दै

ः कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकुद विकास समितिको खेलमैदान परिसरमा विगत केही वर्षयता धमाधम खेलकुद संरचना निर्माण हुँदै गएका छन् ।

जिल्ला खेलकुद विकास समितिको नेतृत्वभन्दा पनि सम्बन्धित खेल प्रशिक्षक र विभिन्न खेल संघ÷संगठनको सक्रियतामा खेलकुद संरचना निर्माण हुन थालेका हुन् । दलीय नेतृत्वमा बन्ने खेलकुद विकास समितिले खेलकुदको विकासमा खासै पहल गर्न नसके पनि प्रशिक्षकको सक्रियताले लाखौँका खेलकुद संरचना निर्माण भएपछि खेल प्रशिक्षणमा समेत सहजता थपिएको छ ।

कुनै समय एउटा साँघुरो कोठामा प्रशिक्षण लिनुपर्ने बक्सिङका खेलाडी हाल आधुनिक प्यारापिटसहितको सुविधासम्पन्न हलमा बक्सिङ प्रशिक्षण लिइरहेका छन् ।

अढाई वर्षअघि जिल्ला बक्सिङ संघ र बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टको सक्रियता र पहलमा स्थानीय स्तरबाट स्रोत परिचालन गरी रु ५० लाखको प्रशिक्षण केन्द्र निर्माण भएको थियो जसमा नेपाली सेनाको श्री नं २५ बाहिनीको ठूलो योगदान रहेको थियो ।

त्यसअघि सेनाकै सहयोग लिएर भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले भलिबल प्रशिक्षण केन्द्र निर्माण गर्नुभयो । हाल भलिबल संघका केन्द्रीय सचिवसमेत रहनुभएका भट्टकै पहलमा भलिबल प्रशिक्षण केन्द्रमा रु ३० लाखमा (दुई चरणमा) दर्शकका लागि प्यारापिट र आयआर्जनसमेत गर्न १० वटा सटर निर्माण भइरहेका छन् ।

उक्त रकम राष्ट्रिय खेलकुद परिषद्ले दिएपनि रकम निकासा गराउने पहलको श्रेय प्रशिक्षक भट्टलाई नै जान्छ । “टे«निङका लागि हल नहुँदा जेनतेन प्रशिक्षण दिनुपथ्र्यो ।” बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले भन्नुभयो– “अहिले खेलाडीलाई रिङको समेत प्रबन्ध भइसक्यो ।” बक्सिङ रिङलगायत खेलकुद सामग्री खरिद गर्न पूर्वमन्त्री तथा माननीय रमेश लेखकले बक्सिङ संघलाई सांसद विकास कोषबाट रु १० लाख प्रदान गर्नुभएको थियो ।

त्यस्तै, अर्का सांसद आनन्दी पन्तले पनि संघलाई रु दुई लाख सहयोग गरेको बक्सिङ संघले जनाएको छ । रु छ लाख राष्ट्रिय खेलकुद परिषद्बाट बक्सिङ्ग संघले पाएको भएपनि बाँकी रकम स्थानीयस्तरबाटै जुटेको थियो ।

त्यसैगरी, केही दिनअघि मात्रै कराँते प्रशिक्षण केन्द्रसमेत यहाँ निर्माण भइसकेको छ । सितोरियो कराँते संघ र कराँते प्रशिक्षक कर्मबहादुर सिंह र वीरेन्द्रबहादुर चन्दको सक्रियतामा कराँते हल बनेको हो । यसका लागि उहाँहरुले रु ३० लाख रकम संकलन गर्नुभयो ।

“रु १० लाख जति राखेपबाट हल निर्माणमा सहयोग आयो,” कराँतेका सहायक प्रशिक्षक चन्दले भन्नुभयो– “बाँकी केन्द्रबाट सहयोग जुट्यो, तर स्थानीयस्तरबाट केही भएन ।” उहाँले कराँते हल निर्माणसँगै एउटा कार्यालय भवन स्थापना गर्ने काम बाँकी रहेको बताउनुभयो ।

गत वर्ष कञ्चनपुर जिल्ला लन टेनिस संघको पहलमा यहाँ लन टेनिस खेल मैदान निर्माण भएको छ भने बुधबार बिहान मात्रै तेक्वान्दो संघको पहलमा अर्को प्रशिक्षण केन्द्रको शिलान्यास भएको छ । रु ८० लाख लागत लाग्ने अनुमान गरिएको उक्त हल सांसद आनन्दी पन्तले शिलान्यास गर्नुभयो ।

“सांसदज्यूबाट सहयोगको आश्वासन पाएर हल निर्माण शुरु गरेका छौँ ।” तेक्वान्दो प्रशिक्षक मोहनप्रताप गुरुङले भन्नुभयो– “हामी पनि स्थानीयस्तरबाट सहयोगको आशामा हल निर्माणमा जुटेका छौँ ।” उहाँले हल निर्माण भए तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा सहजता आउने बताउनुभयो ।

२०६८ साल फागुनमा यहाँ सम्पन्न बृहत् छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महेन्द्रनगरमा रु २० लाखको लागतमा राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट मैदान निर्माण गरेको थियो ।

“छैटौँ राष्ट्रिय खेलकुद हुँदा यहाँ खेल संरचना धेरै बन्छन् भन्ने अपेक्षा थियो ।” जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले भन्नुभयो– “यहाँ क्रिकेट मैदान र केही मर्मतको काम मात्रै भयो ।

उहाँले चालु आर्थिक वर्षमा खेलकुद संरचना निर्माणका लागि केन्द्रबाट बजेट नआएको बताउनुभयो । खेलकुद संरचना निर्माणका लागि पहल गरेपछि मात्रै मागअनुसारको रकम निकासा हुने गरेको देखिएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गोर्खाली जनता विकासको पक्षमा छन्, चुनाव जित्छौं : राजेन्द्र बजगाई

                   नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा ...